Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा सुन्तला उत्पादन दर घट्दो, रावाबेँसीका कृषकलाई विषादि र उपकरण सहयोग

    खोटाङमा सुन्तला उत्पादन दर घट्दो, रावाबेँसीका कृषकलाई विषादि र उपकरण सहयोग


    • सोमवार, पौष ४ २०७९

    • नेपाल वाइड


    खोटाङमा सुन्तला उत्पादन दर घट्दो, रावाबेँसीका कृषकलाई विषादि र उपकरण सहयोग
    कुभिन्डेका किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रणका लागि विषादि तथा उपकरण प्रदान गरिदै ।

    खोटाङ, ३ पुस । सुन्तलामा देखा परेको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले रावाबेँसी गाउँपालिकाका किसानलाई विषादि तथा उपकरण वितरण गरेको छ ।

    सुन्तलामा देखा परेको औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका किसानलाई विषादि तथा उपकरण प्रदान गरेको हो ।

    विभिन्न प्रकारका रोगका कारण हरेक वर्ष सुन्तला उत्पादनमा र्‍हास आइरहेका बेला ज्ञान केन्द्रले कुभिन्डेका २३ किसानलाई डोरसालिस, कुकुरबुटी र टाउ प्रजातीको औंसा मार्ने मोहनी पासो, सिट्रस ग्रिनिङको कारक मानिने सिट्रसशिल्ला किरा फैलिन नदिन किटनाशक विषादि, झ्याउ तथा जरा कुहिनबाट जोगाउने कोनिका नामक विषादि वितरण गरेको हो ।

    यस्तै, सुन्तलाको बोट वरपर गोडमेल गरेर माटोको उपचारका लागि मालाथिन वितरण गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।

    किसानलाई सुन्तलाको बोट काँटछाँटका लागि सिकेचर पनि वितरण गरिएको छ । कतिपय किसानको बगानमा रोग लागेर झरेका सुन्तलालाई एक ठाउँमा जम्मा गरेर नष्ट गरिएको छ । किसानलाई कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान राई, वाली संरक्षण अधिकृत यादव लगायतले विषादि तथा उपकरण हस्तान्तरण गरेका हुन् ।

    चालु आर्थिक वर्ष रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका सुन्तला कृषकलाई किटनाशक पनि विषादिका साथमा उपकरण प्रदान गर्ने तयारी गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्ष दिनअघि पिसिआर परीक्षण गर्दा लामीडाँडाका सुन्तलामा सिट्रस ग्रिनिङको संक्रमण पूष्टि भएको थियो ।

    कुनैबेला हवाइजहाजबाट सुन्तला निर्यात हुने लामीडाँडामा हाल सुन्तला चाख्नै पाइन छाडेको छ । उसो त रोगको प्रकोपका कारण समग्र जिल्लामै हरेक वर्ष सुन्तला उत्पादन दर घटिरहेको छ । विशेषगरी औंसाको प्रकोपका कारण जिल्लामा सुन्तला उत्पादनमा र्‍हास आएको वाली संरक्षण अधिकृत यादवले बताए ।

    औंसा किरा नियन्त्रणकै लागि ज्ञान केन्द्रले गत वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा किटनाशक विषादि तथा उपकरण वितरण गरेको थियो । गत वर्ष औंसा किरा नियन्त्रणका उपाय सम्वन्धी ब्रुसर तयार पारेर किसानलाई बाँडिएको थियो ।

    सम्बन्धित समाचार