बिहिवार, पौष ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ पुस । आगलागीमा ध्वस्त बनेको खोटाङको बाक्सिला बजारको पुःननिर्माणका लागि अभियान थालिएको छ । सोमबार साँझ भएको आगलागीमा पाँच घर नष्ट हुँदा पाँच करोड बराबरको क्षती पुगेको बाक्सिला बजारको पुःननिर्माणका लागि पालिकाबासीले संयुक्त रुपमा हातेमालो गरेका हुन् ।
गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको संयोजवकत्वमा २१ सदस्यीय बाक्सिला बजार अग्नी पिडित राहत संकलन समिति बनाएर आगलागी पिडितको सहयोगार्थ अभियान थालिएको छ ।
आगलागीबाट घर तथा सम्पूर्ण धन सम्पत्ती गुमाएर विस्थापित भएका पिडितको सहयोगार्थ प्राप्त हुने रकमलाई एउटै खातामा जम्मा गर्ने र वितरण गर्नेगरी समिति बनाइएको हो । उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीको अगुवाईमा मंगलबार चार लाख ५५ हजार ९५ रुपैयाँ संकलन गरेर आगलागी पिडितलाई प्रदान गरिएको छ ।
घटना लगत्तै गाउँपालिका उपाध्यक्ष गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पिडितलाई आगलागी पिडित परिवारलाई लागि क्षतीपुर्ती उपलव्ध गराउन संघीय सरकार, प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
यस्तै, गाउँपालिका अध्यक्ष समिर राईको संयोजकत्वको विपद व्यवस्थापन समितिले पनि आगलागी पिडितको राहतका लागि प्रदेश र संघीय सरकार तथा अन्य दाता समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अग्नी पिडितको सहयोगार्थ गाउँपालिकाका शिक्षक तथा कर्मचारीले दुई÷दुई दिनको तलव सहयोग गर्ने निर्णय गरेका छन् ।
कार्यपालिकाको बैठकमार्फत जनप्रतिनिधिले पनि सहयोग गर्ने निर्णय गरिने गाउँपालिका अध्यक्ष राईले बताए । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई संयोजकत्वको जिल्ला विपद व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले पनि पिडितलाई राहत तथा क्षतीपुर्तीका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजारमा आगलागी हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ । पाँच घर भगनावशेषमा परिणत भएको छ ।
घर भग्नावशेषमा परिणत भएपछि विस्थापित परिवार आफन्तकोमा आश्रय लिइरहेका छन् । सर्वस्व गुमेपछि आगलागी पिडितको उठिबास भएको छ । केही विस्थापितका लागि भग्नावशेष नजिकै टहरा बनाइएको छ । आगो निभाउने क्रममा खानेपानीका पाईप काटिएका छन् । पाँच घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य विग्रिएको छ ।
व्यवसायी डिल्लीकुमार श्रेष्ठको पसल सञ्चालन हुँदैआएको घर र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षती भएको छ । सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षती भएको छ ।
यस्तै, शुभराज राईको घरमा भाडामा बसिरहेका समिर राई (गाउँपालिका अध्यक्ष)को कपडा, पुस्तक र किराना पसल तथा नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षती भएको छ ।
दिपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्न गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षती भएको प्रहरीले जनाएको छ । यस्तै, रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षती भएको छ ।
अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।