शनिवार, पौष १६ २०७९
नेपाल वाइड
खोटाङ, १६ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी तीन परिवारलाई यूकेमा रहेका समाजसेवीबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत पुस ९ गते विद्युत सर्ट हुँदा सुरु भएको आगलागीबाट क्षती बेहोरेका झिसेपुका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई बाम्राङ चुप्ला घर भए हाल यूकेमा रहेका इन्जिनियर उदिप किरातले ५० हजार आर्थिक सहयोग पठाएका हुन् ।
किरातले पठाएको सहयोग रकम शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले आगलागी पिडितलाई हस्तान्तरण गरेका छन् । आगलागीबाट घर र धनसम्पत्ती गुमाएका तीन परिवारलाई किरातले एकमुष्ट नगद सहयोग पठाएको स्थानीय युवा नेता युगसन किरातले जानकारी दिए । सहयोग रकम हस्तान्तरणका क्रममा उपमेयर राईले नगरपालिकाकातर्फबाट पनि सहयोग गर्ने आश्वसन दिएका छन् । सो आगलागीमा तीन परिवारको ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।