आइतवार, पौष १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ पुस । खोटाङको साकेला गाउँलिकाका स्थानीयले पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्न माग गरेका छन् ।
निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभी, काठ्माण्डौंको ढिलासुस्तीका कारण सडक कालोपत्रेको काम अलपत्र परेको भन्दै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीयले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिनेगरी ठेक्का सम्झौता रद्ध गर्न माग गरेका हुन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेल, काभ्रेलाई ३०३ जनाको हस्ताक्षर सहितको ज्ञापन–पत्र पठाउँदै स्थानीयले भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको बताएका छन् ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीयले सो निर्णयमा ‘फेरबदल’ नगर्न ध्यानाकर्षण गराएका हुन् ।
स्थानीयकातर्फबाट रघुनन्द राईले बुझाएको ज्ञापन–पत्रमा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीकै पक्षमा पुःन म्याद थप भए सडक कालोपत्रेको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रेको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको राईले बताए ।
भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।
सडक कालोपत्रेको काममा ढिलासुस्ती हुँदा बिशेषगरी बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भएको स्थानीय इन्द्रबहादुर रोकाले बताए । ठेकेदारले चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिसकेको छ ।