मंगलवार, माघ ३ २०७९
प्रेम श्रेष्ठ
खोटाङ, ३ माघ । निजामती सेवामा प्रवेश गरेको खुसीयालीमा अधिकांश सरकारी जागिरेले आफन्त र साथीभाई भेला गरेर भोज गर्छन्, पाटी दिन्छन् । र सामाजिक सञ्जालमा तस्बीरहरु पोष्ट गर्छन् । तर सरकारी जागिरमा प्रवेश गरेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका हरि खड्काले भने पाटीमा हुने खर्चलाई असहाय र पूर्ण अपांगता भएका स्थानीयलाई ज्याकेट बाँडेका छन् ।
लोकसेवा आयोग बागमती प्रदेशले लिएको लिखित र मौखिक परिक्षामा गत पुस २३ गते अहेवमा नाम निकालेका खड्काले गाउँका साहरा विहिन, अशक्त र पूर्ण अपांगता भएका गरी १५ जनालाई न्यानो कपडा बाँडेर खुसीयाली मनाएका हुन् । उनले कतिपय अशक्तलाई घरैमा पुगेर तथा कतिपयलाई वडा कार्यालयमा बोलाएर ज्याकेट प्रदान गरेका हुन् ।
स्थायी जागिरे बनेका खड्का चौरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकमा सिफारिस भएका छन् । ‘सफलता हासिल गर्दैगर्दा खुसीयालीमा भोजभतेर र पाटी गर्ने प्रचलन छ,’ खड्काले भने, ‘पाटी र भोज गर्ने खर्चले गरिव–दुःखीलाई केही राहत हुन्छ भन्ने हेतुको कपडा बाँडे खुसीयाली मनाएको हुँ ।’
