सोमवार, माघ १६ २०७९
नेपाल वाइड
खोटाङ, १६ माघ । डिभिजन वन कार्यालय खोटाङले साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माबिमा विद्यालय वातावरण सचेतना कार्यक्रम गरेको छ । वातावरण सुधार कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालयले विद्यार्थीलाई सहभागी गराएर आइतबार विद्यालय वातावरण सचेतना कार्यक्रम गरेको हो । विद्यालय र विद्यार्थीमार्फत वातावरण संरक्षण गर्ने प्रयास स्वरुप विद्यालय वातावरण सचेतना कार्यक्रम गरिएको सव–डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख हरिकाजी राईले बताए ।
‘समाज र वरिपरिका वातावरणलाई सफा राख्ने प्रयास आफैबाट गर्नुपर्छ’ भन्ने मान्यता व्यवहारमा उतार्नका लागि विद्यालय वातावरण सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा सकेसम्म फोहोरमैला कम उत्पादन गर्ने, फोहोरमैलालाई छुट्याएर त्यसको उचित व्यवस्थापन गर्ने र फोहोरलाई उपयोग गरेर प्रांगारिक मल तयार गर्ने बारे छलफल गरिएको छ ।
सरस्वती माबिका कक्षा ९ देखि कक्षा १२ सम्मका ९० विद्यार्थीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको हो । ‘वातावरण संरक्षण र सरसफाई प्रकृया घर परिवार र विद्यालय क्षेत्रबाट सुरु गर्नुपर्छ,’ प्रमुख राईले भने, ‘वातावरण प्रदुषण कम गर्ने, ओजोन तहको संरक्षण गर्ने, कार्वन सञ्चितिमा ध्यान दिने, वन बिनास कम गर्ने, बृक्षारोपण गर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिन कार्यक्रम गरेका हौँ ।’
कार्यक्रमकै अवसरमा सरस्वती माबिका विद्यार्थीको इ–को क्लव गठन गरिएको छ । छात्रा अनुका खड्काको अध्यक्षतामा १३ सदस्यीय सरस्वती इ–को क्लव गठन गरिएको हो । शिक्षक धनप्रसाद रोकाय इ–को क्लवको संरक्षक बनाइएका छन् । इ–को क्लवलाई डिभिजन वन कार्यालयले फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन प्रदान गरेको छ । कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदिश रेग्मी र सव–डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख राईले सहजीकरण गरेका थिए ।
सरस्वती माबिका प्रअ शितल राईको अध्यक्षता, वडाध्यक्ष जीवन खत्रीको प्रमुख आतिथ्यता तथा विव्यास अध्यक्ष निर चाम्लिङको विशेष आतिथ्यतामा भएको कार्यक्रम फरेष्टर बिष्णु श्रेष्ठ र पेशला घिमिरेले सञ्चालन गरेका थिए ।
अन्तरक्रीयात्मक रुपमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी सरोकारवाला पक्ष, शिक्षक र विद्यार्थीले आ–आफ्नो क्षेत्रबाट वातावरण संरक्षणमा योगदान दिने ऐक्यवद्धता जनाएका छन् । डिभिजन वन कार्यालयको पहलमा गत पुस २२ गते जनजागृति माबि सोल्मामा चामुण्डा राईको अध्यक्षतामा इको क्लव गठन गरिएको थियो ।