शनिवार, माघ २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ माघ । ठेक्का तोड्न सिफारिस गरेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रेको कामले गति लिएको छ । सडक कालोपत्रेको काममा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठ्माडौंले चरम ढिलासुस्ती गरेको भन्दै ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरेको केही समयपछिदेखि सडक कालोपत्रेको कामले गति लिएको हो ।
ठेकेदारले चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेलले ठेक्का तोड्नका लागि गत मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेको थियो । ठेक्का तोड्नका लागि सिफारिस गरेपछि आत्तिएका ठेकेदारले हाल कल्भर्ट, स्ट्रक्सचर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको हो ।
ठेकेदार कम्पनीले १२ औं संशोधन अन्तरगत आगामी असार मसान्तसम्म म्याद थप भए पनि आगामी बैसाख असान्तसम्ममा कालोपत्रे सक्ने लक्ष्यका साथ काम सुचारु गराएको मैनाचुली निर्माण सेवाका साइडइन्चार्ज बिमल अधिकारीले बताए ।
भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाहीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।
तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै नाघिसकेको थियो । तेश्रोपल्ट म्याद नाघ्दासम्ममा करिब ३५ प्रतिशत मात्र काम भएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती हुँदा बिशेषगरी आवतजावतदेखि बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भएको बाँझेच्यानडाँडाकी स्थानीय मिनाकुमारी राई बताउँछिन् ।
गत पुस १७ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीयले पनि प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयलाई ज्ञापन–पत्र पठाउँदै सो सडक कालोपत्रेको ठेक्का तोड्न माग गरेको थियो ।
ठेक्का तोड्नका लागि सिफारिस भएको अवस्थामा स्थानीय पनि ठेक्का तोड्न दवाव दिन प्रशासन पुगेपछि गत पुस २२ गते मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको रोहवरमा असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका थिए ।
वर्षौंसम्म सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारले अहिले काम सुचारु गरेपनि असारसम्ममा काम पुरा गर्नेमा भने स्थानीय बिश्वस्त हुन सकेका छैनन् । बाँकी समयभित्र कालोपत्रेको काम सम्पन्न गर्न ठेकेदारले कामको गति थप बढाउनुपर्ने अवस्था देखिएको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले बताए ।