आइतवार, माघ २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ माघ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको जयरामघाट–हलेसी (४० किलोमिटर) सडक पिरियोडिक मेन्टिनेन्समा ढिलासुस्ती हुँदा आवत–जावत गर्न समस्या भएको छ ।
त्रि–धार्मिकस्थल हलेसी छुने जयरामघाट–हलेसी सडक खण्डमा २०६५ देखि २०६७ सालकोबिचमा गरिएको कालोपत्रे उक्किएर खाल्डाखुल्डी बनेपछि पिरियोडिक मेन्टिनेन्स लागि दुई वर्षअघि ठेक्का लगाइएको थियो । तर निर्माण कम्पनी डि.एस. कन्ट्रक्सनले पिरियोडिक मेन्टिनेन्सको काममा ढिलासुस्ती गर्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।
जयरामघाट–हलेसीको तीन खण्ड गरी १४ किलोमिटर खण्डमा अलकत्रामाथि चिप्स छरेर रोलिङ गर्नुपर्ने सम्झौता छ । सडकको पिरियोडिक मेन्टिनेन्सको दोश्रो पल्ट थप भएको म्याद गत २०७९ असार २२ गते नाघिसकेको छ ।
डि.एस. कन्ट्रक्सनले २०७७ जेठ २८ गते आवधिक मर्मतको ठेक्का सम्झौता गरेको थियो । भिओ पास गरेपछि आवधिक मर्मतको लागत भ्याट सहित ११ करोड ७८ लाख १३ हजार ७७९ रुपैयाँ पुगेको सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेका इन्जिनियर दिनेश मुनकर्मीले बताए ।
दुईपल्ट म्याद थप हुँदा पनि जयरामघाट–हलेसी सडकको आवधिक मर्मत योजनाको काम पुरा नगरेको निर्माण कम्पनीका प्रतिनिधि निपेन्द्र कार्कीले गत पुस ६ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा भएको छलफलमा १५ दिनभित्र खाल्डाखुल्डी तथा पुरिएका नाली सफा गरी सहज यातायात सञ्चालनको वातावरण तयार गर्ने र तोकिएको म्याद अगावै काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका थिए ।
तर सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई बताउँछन् । माघे संक्रान्ती मनाउन भन्दै फर्किएको निर्माण व्यवसायीले भिओ पास भएपछि मात्र हप्ता दिन यता चार/पाँच जना कामदारलाई निर्माणस्थलमा खटाएको छ । आवधिक मर्मतमा भएको ढिलासुस्तीका विषयमा छलफलका लागि पटक–पटक फोन गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।
हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । जयराम–हलेसी सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर ओटासिल गरेको थियो ।