Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पाठेघर खसेका २८ महिलालाई हलेसी तुवाचुङले पुर्‍यायो अस्पताल

    पाठेघर खसेका २८ महिलालाई हलेसी तुवाचुङले पुर्‍यायो अस्पताल


    • सोमवार, फाल्गुण १ २०७९

    • नेपाल वाइड


    पाठेघर खसेका २८ महिलालाई हलेसी तुवाचुङले पुर्‍यायो अस्पताल
    हलेसी तुवाचुङ नगरपालिका खोटाङ ।

    खोटाङ, १ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका २८ महिलालाई उपचारका लागि अस्पताल लगेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ महिलामध्ये २८ जनालाई निःशुल्क उपचारमा लगेको हो ।

    पाठेघर खसेका महिलालाई उपचारका लागि सोमबार दुई वटा बस रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा, भक्तपुर पुर्‍याइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

    अस्पताल पुर्‍याइएका १० जनालाई भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । नगरपालिकाले बिरामी र उसका कुरुवालाई अस्पताल जाने आउने, खाने र बस्ने व्यवस्था मिलाएको छ ।

    नगरपालिकाको समन्वयमा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरले अप्रेसनमा लाग्ने शुल्क र खाना खर्च उपलव्ध गराउने भएको छ । पाठेघरमा समस्या भएकामध्ये चार जनाले भने अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ ।

    बिरामी, कुरुवा र नगरपालिकाका प्रतिनिधि सहित ६१ जनाको टोली सोमबार राती २ बजे अस्पताल हिँडेका थिए । बिरामी र कुरुवा बोकेको एउटा बस अर्खौले र अर्को बस दुर्छिमबाट छुटेको थियो ।

    मेयर विमला राई, उपमेयर रमेश राउत, सामाजिक विकास शाखा संयोजक एवं बाहुनीडाँडाका रुद्रकुमार राई र स्वास्थ्य शाखा संयोजक घिमिरेको टोली पाठेघरको समस्या भएका महिला र कुरुवालाई लिएर अस्पताल पुगेका हुन् । स्वास्थ्य परिक्षण गरेर अप्रेसन गर्न मिल्ने वा नमिल्ने पहिचान गरेर उपचार प्रकृया अघि बढ्ने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए ।

    पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्या विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो ।

    घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको थियो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो ।

    सम्बन्धित समाचार