बुधवार, फाल्गुण ३ २०७९
नेपाल वाइड
खोटाङ, २ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बगरेभञ्ज्याङमा करोड खर्च गरेर बनाइएको कृत्रिम ताल गाईभैंसीलाई आहाल बस्ने ठाउँ बनेको छ ।
नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा निर्माण गरिएको रुरु ताल आसपासका स्थानीयले चरिचरनमा लगेका गाईभैंसीले पानी पिउने र पौडी खेल्ने थलो बनेको हो ।
वर्षाको पानी जमाएर डुंगा शयर गर्न मिल्नेगरी एक हजार वर्गमिटर क्षेत्रफलमा ताल निर्माण गरिएको थियो । वर्षाको भलपानी जमाइएका कारण ताल बा¥हैमास धमिलो हुन्छ । हिउँदको समयमा पानी अभावमा ताल सुकेर आकार घट्ने गरेको स्थानीय बताउँछन् ।
साविकको सदरमुकाम दिक्तेलबाट ९ किलोमिटरको दुरीमा रहेको बगरेभञ्ज्याङको देवीथान गल्छीमा एक करोड आठ लाख ७० हजार खर्चमा १० मिटर अग्लो ड्याम हालेर पोखरी निर्माण गरिएको हो । कृत्रिम ताल निर्माणका क्रममा आर्थिक वर्ष २०७५/०७६ मा संघीय सरकारको ३४ लाख ९२ हजार, नगरपालिकाको ५४ लाख ५ हजार ९६४ र उपभोक्ता समितिको ८९ लाख खर्च भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारको आठ लाख ६५ हजार ३६० र उपभोक्ता समितिको एक लाख २२ हजार ३२१ रुपैयाँ खर्च भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरेको बजेटबाट २०७५ फागुन २२ गतेदेखि कृत्रिम ताल निर्माणको काम सुरु गरिएको थियो ।

तालमा वर्षाको भलपानीले बगाएर झारेको गेगर पस्ने गरेको छ । तालमा झरेर थाक लागेको गेगरलाई थुप्रो बनाएर राखिएको छ । पानी चुहिन नदिन तालको ड्याममा हाल्नका लागि भित्ता खन्नेक्रममा झरेको ढुंगामाटोले पनि तालको केही भाग पुरेको छ । तालमा पानीभन्दा ढुंगामाटो र गेगरको थाक ठूलो देखिन्छ । रुखका जरा तालभित्रै मिल्काइएको छ ।
तर ढुंगा माटो, गेगर र ठुटा पन्छाउनमा स्थानीय सरकारको ध्यान गएको छैन । डुंगा शयर नभए पनि तालले गाईवस्तुलाई पानी खुवाउने श्रोत र रिचार्ज पोखरीको काम गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका स्थानीय हात्तीराम राई बताउँछन् । “तालको फिनिसिङ राम्रो भएन । काम अधुरो छाडेजस्तो देखिन्छ । अनियमितता भयो भन्ने पनि सुनियो,” राईले भने, “पहिचान बोकेको गैरा हो त्यो ठाउँ । पर्यवरणका हिसावले पनि उपयुक्त काम भएको छ । तर फिनिसिङ नहुँदा ताल कुरुप देखिन्छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरेभञ्ज्याङलाई पिकनिक स्पटकारुपमा विकास गर्नका लागि कृत्रिम ताल, दक्षिणतर्फ पेन टावर र पुर्वतर्फको डाँडामा पिकनिकका लागि टहरा, चुला, बस्ने ठाउँ लगायतका संरचना निर्माण गरिएको छ । पिकनिक स्पट आसपासमा बगैँचा बनाउने भनेर रोपिएका अधिकांश बोटविरुवा हेरचाह अभावमा मरिसकेका छन् ।
चारैतिर हरियाली जंगलले ढाकिएको रमणीयस्थल बगरेभञ्ज्याङमा विभिन्न संरचना बनेपछि आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् । समुद्री सतहबाट २ हजार ६८ मिटर उचाईमा रहेको बगरेभञ्ज्याङको पर्यटन प्रवर्धनका लागि नगरपालिकाले पिकनिक स्पट निर्माणको अवधारणा अघि सारेको थियो । श्रोत : हिमालखबर