बिहिवार, फाल्गुण ४ २०७९
नेपाल वाइड
खोटाङ, ४ फागुन । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतीमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरु एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतीमा राष्ट्रपति निर्वाचित हुने दावी गरेका हुन् ।
‘देशमा एकदमै राजनीतिक तरलता आइरहेकोछ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ प्रतिनिधिसभा सदस्य राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतीको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’
प्रतिनिधिसभा सदस्य राईले देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधिनताको हिसावले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीको दृष्टिकोण आएको उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरु मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याएका हुन् ।
‘हिजो भएको सहमती कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि छन् । तर जे भए पनि सहमतीमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरु मिलेरै जानुपर्ने छ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तीलाई अन्त्या गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ती वा आन्तरिक शक्ती पनि लागिराख्याछ ।
यसका लागि राष्ट्रिय सहमतीमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माण सम्वन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् ।