सोमवार, फाल्गुण १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ । साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो ।
शवलाई प्रहरीको मुचुल्का उठाएर सदगद गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताए । शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ ।
ओखलढुंगा, सिन्धुली, काभ्र्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ ।
यसैबीच, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २७ वर्षीय मनबहादुर तामाङ सुतेकै ठाउँमा मृत फेला परेका छन् । आफन्तको जन्ती गएका तामाङ सुतेकै ठाउँमा मृत फेला परेको डिएसपी मुकारुङले बताए ।