बिहिवार, फाल्गुण १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचन कार्यालयले दिक्तेलमा कार्यशाला आयोजना गरेर आगामी फागुन २२ गतेदेखि मतदाता नामावलीमा भएको त्रुटि सच्याउने काम सुरु गर्ने जानकारी दिएको छ । मतदाता नामावली अद्यावधिकको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।
निर्वाचन कार्यालयले फागुन २२ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, फागुन २३ गतेदेखि फागुन २५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने कार्य तालिका सार्वजनिक गरेको छ ।
यस्तै, फागुन २३ गतेदेखि फागुन २६ गतेसम्म बसाइसरी अन्यत्र गएका, मृत्यु भएका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीसँग लिने, फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त विवरणको आधारमा बसाइसरी अन्यत्र गएका, मृत्यु भएका मतदाताको हकमा जाँचबुझ गरी हटाउने, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।
फागुन २६ गतेदेखि फागुन २७ गतेसम्म कुनै मतदाता बसाईसरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने, फागुन २७ गतेदेखि फागुन २८ गतेसम्म सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा परेका उजुरी र मतदाताले दिएको सफाइको आधारमा मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, फागुन २८ गते सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, फागुन २९ गते त्रुटि सच्याइएको र नाम हटाइएको सूचना निर्वाचन कार्यालयमा प्रकाशन गर्ने र फागुन ३० गतेदेखि चैत १ गतेसम्म फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।