बिहिवार, फाल्गुण १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ फागुन । प्रदेश १ को नाम ‘कोशी’ राखिएको भन्दै जनता समाजवादी पार्टी नेपाल खोटाङले आपत्ती जनाएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यामन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै जनता समाजवादी पार्टीले उत्पीडित राष्ट्रियताहरुले सदियौंदेखि उठाउँदै आएको पहिचानको मुद्धालाई कुल्चेर राखिएको नाम किमार्थ स्वीकार्य नहुने जनाएको छ ।
प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानको आधारमा नराखिएका कारण असहमती प्रकट गरिएको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पिके खम्बूले बताए ।
‘प्रदेशसभाले कोशी प्रदेश राख्ने जुन प्रस्ताव पारित गर्यो यसमा हाम्रो पार्टी घोर आपत्ती प्रकट गर्दछ,’ प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईमार्फत पठाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘कोशी प्रदेश हुनुपर्छ भनेर कहिँकतै आन्दोलन भएन । कहिँकतैबाट नमागेको नाम जवरजस्ती पारित गर्नु कत्तिको ठीक हुन्छ ?’
जनता समाजवादी पार्टीले पहिचानको मुद्धालाई कुल्चिएर राखिएको प्रदेशको नाम विरुद्धको आन्दोलन एवं सहियौंदेखि विभेद र उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, क्षेत्र, लिंग, धर्म र समुदायका संविधानसँग सम्वन्धित सवालमा ऐक्यवद्धता जनाउन आव्हान गरेको छ ।
‘बिश्वमा राष्ट्रियमुक्ति आन्दोलनको अभ्युदयका मूख्य कारण नै राज्यको विभेदकारी नीति हो,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘त्यसका लागि नै हामीले पहिचान र अधिकार सहितको संघीयता राज्यको सबै अंगहरुमा जातीय र सामुदायीक जनसंख्याको आधारमा समानुपातिक, समावेसीकरण, सहभागितामूलक समावेसी लोकतन्त्र र सकरात्मक विभेद जस्ता कुरा अगाडि सारेका हौँ ।’
ज्ञापन–पत्र बुझाउन जनता समाजवादीका नेता नविन राई, सुनिल चाम्लिङ, मुगाधन राई, अरुण चाम्लिङ लगायतका नेता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । यस्तै, प्रदेशको नामाकरण ‘कोशी’ गरिएको बिरोधमा किरात राई यायोक्खाले दिक्तेलको किरातचोकमा चक्का जाम गरेको छ । बिरोधमा यायोक्खाले बुधबार साँझ मूख्यामन्त्रीको पुत्ला दहन गरेको थियो ।