Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना

    म्याद सकिएको तीन वर्षमा पनि सकिएन खोटाङ खानेपानी आयोजनाको काम 

    म्याद सकिएको तीन वर्षमा पनि सकिएन खोटाङ खानेपानी आयोजनाको काम 

    महर्जनले भने, “महादेवबेंसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि १२ वटा पम्प जडान र ५०० मिटर पाइपलाइनको काम बाँकी छ । जेठ अन्तिमसम्ममा काभ्रेमा पानी निस्कन्छ ।” 

    • आइतवार, चैत्र १२ २०७९

    • नेपाल वाइड


    म्याद सकिएको तीन वर्षमा पनि सकिएन खोटाङ खानेपानी आयोजनाको काम 
    खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काभ्रेडाँडामा बनाइएको ट्यांकी । तस्वीरः दमन राई

    खोटाङ, ११ चैत्र । निर्माण सम्पन्न गर्ने म्याद नाघेको तीन वर्ष बितिसक्दा पनि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम ८५ प्रतिशत मात्र सकिएको छ । 

    दुधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ-७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ लिफ्टिङ आयोजना शुरू गरिएको हो ।

    दुधकोशीको लुलिमा-भुम्जुडाँडा र महादेवबेंसी-काभ्रेडाँडाको मुख्यलाइनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ । महादेव खिम्तीले २०७६ पुस १७ गतेसम्म ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँमा काम सम्पन्न गर्नेगरी २०७४ असार २१ गते सम्झौता गरेको थियो ।

    लुलिमा-भुम्जुडाँडाको काम करीब ९० प्रतिशत सकिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए । यस्तै, महादेवबेंसी-काभ्रेडाँडाको काम करीब ८२ प्रतिशत सकिएको उनको भनाइ छ । 

    “लुलिमाको पानी भुम्जुडाँडामा निकाल्न ६ ठाउँमा १२ वटा पम्प जडान भइसकेको छ । चैतभित्र भुम्जुमा पानी निस्कन्छ,” प्रमुख महर्जनले भने, “महादेवबेंसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि १२ वटा पम्प जडान र ५०० मिटर पाइपलाइनको काम बाँकी छ । जेठ अन्तिमसम्ममा काभ्रेमा पानी निस्कन्छ ।” 

    मेनलाइनको सम्झौता म्याद नाघेको तीन वर्ष तीन महिना बितिसकेको छ । विदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता, ट्यांकी बनाउनेक्रममा उत्पन्न विवाद र कोभिड–१९ को महामारीका कारण आयोजनाको काममा ढिलासुस्ती भएको दिवा–महादेव खिम्तीका प्रतिनिधि इलेक्ट्रिसियन सनकुमार अर्याल बताउँछन् ।

    “गेटभल्ब लगायतका उपकरण विदेशबाट ल्याउन समय लाग्यो। शुरू–शुरूमा ट्यांकी बनाउने क्रममा विवाद हुँदा दुई-तीन वर्ष झेल्यौं । कोरोनाले पनि असर गर्‍यो,” अर्याल भन्छन्, “काममा केही ढिला भएकै हो। अब चाहिं केही भाछ, छिट्टै सम्पन्न हुन्छ भन्ने आशा छ ।” 

    यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ ।

    २०७७ असार ३० गतेसम्म सक्ने शर्तमा २०७५ असार ३१ गते दुवै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजार र रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा अर्को वितरणलाइनको ठेक्का लिएको थियो ।

    ठेकेदार कम्पनीले वितरणलाइनतर्फको काम लगभग अन्तिम चरणमा पुर्‍याएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयले जनाएको छ । उपभोक्ताको घर–घरसम्म पानी लैजान करीब ३०० किलोमिटर पाइप पुर्न बाँकी छ। सम्झौता अनुसार‚ उक्त काम उपभोक्ताले गर्नुपर्छ ।

    मेनलाइन तथा वितरणलाईतर्फका सबै योजनाको चौथो पटक थप भएको म्याद यही चैत ३० गते सकिंदैछ। चार पटक म्याद थप हुँदा पनि पम्पिङ खानेपानी आयोजनाको काम पूरा नगरेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाले गत मंसीर १७ गते दुई महीनाभित्र पूरा गर्न ठेकेदारलाई कागज गराएको थियो । 

    जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त घोषणा गरेको उक्त क्षेत्रमा करीब एक अर्ब रुपैयाँको पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो ।

    नगरपालिकाको सात वडामा रहेको खानेपानीको विकराल समस्या हल गर्न यस आयोजना शुरू गरिएको हो । दुधकोशीबाट पानी लिफ्ट गरेर ल्याइएको पानी कम्तीमा तीन हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ। सो क्षेत्रमा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको विकल्प छैन । श्रोतः हिमालखबर

    12.jpg

    1.jpg

    2.jpg

    संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जन जिल्ला स्थित पत्रकारहरुहरुको टोलीसहित आायोजना निर्माण स्थलमा अनुगमन गर्दै ।

    सम्बन्धित समाचार