बिहिवार, चैत्र २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ चैत । खोटाङमा कतिपय सवारी साधन बाटोको इजाजत नलिइ सञ्चालन गर्ने गरिएको पाइएको छ । इजाजत नै नलिइएको बाटोमा ९ प्लस १ सिट क्षमता भएका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिमा आवद्ध व्यवसायीले गुनासो गरेका छन् ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार ९ प्लस १ सिट क्षमता भएका गाडीलाई २५० किलोमिटरभन्दा लामो दुरीमा बाटोको इजाजतमा रोक लगाउने भनिए पनि त्यस्ता गाडीहरु जिल्लामा निर्वाध रुपमा सञ्चालन भइरहेको खोटाङ यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष फडिन्द्र राईले बताए ।
खोटाङको भूगोल अध्ययन नै नगरी यातायात व्यवस्था विभागले बाटोको इजाजत–पत्र जारी गरेकाले अनुगमन गरेर मात्र गाडीहरु सञ्चालनको पहल गरिदिन भन्दै खोटाङ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालयलाई चैत १ गते लिखित अनुरोध गरेको थियो ।
काठ्माडौंदेखि दिक्तेलसम्मको बाटोको इजाजत लिएका सवारी साधनलाई सिधै दिक्तेल हुँदै पञ्चमी, मानेभञ्याङ, बाक्सिला, खार्ताम्छा, फेदी लगायतका ठाउँमा पनि कुदाउने गरिएको छ ।
यस बाहेक काठ्माडौंबाट भोजपुर जाने क्रममा खोटाङको हुर्लुङमै २५० किलोमिटर दुरी पुग्छ तर भोजपुर जाने सवारी साधन दिक्तेलबाट विना चेकजाँच ओहोर दोहोर गरिरहेको खोटाङ यातायात प्रालिका उपाध्यक्ष राईले बताए ।
रुट पर्मिट नलिइ सवारी साधन सञ्चालन भइरहेका बारेमा ट्राफिक प्रहरी कार्यालय समेत मौन बसेको यातायात प्रालिले जनाएको छ । खोटाङ यातायात प्रालिले निजी सवारी साधनलाई भाडाको यात्रु बोकेर ओसार–पसार गर्ने सार्वजनिक यातायातको रुपमा प्रयोग गर्नमा रोक लगाउन प्रशासन समक्ष माग राखेका छन् ।
सो मागलाई कार्यान्वयन गर्नेगरी गृह–मन्त्रालयले समेत बुधबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने सवारीलाई रोक्न निर्देशन दिएको छ ।
यस्तै, जथाभावी काउण्टरहरु राखेर यात्रुहरु तानातान गर्नमा रोक लगाउन, यातायात व्यवस्था विभागले इजाजत दिए पनि यात्रुलाई जोखिम हुने भएकाले कच्ची सडक र लामो दुरीमा अटो सञ्चालनमा रोक लगाउन, अटोको भाडा दर कायम गर्न आग्रह गरिएको बरिष्ठ उपाध्यक्ष राईले बताए ।
प्रालिले जथाभावी सवारी साधन पार्किङ गरी यात्रु चढाउने, ओराल्ने र यात्रु तानातान गर्ने क्रियाकलापमा रोक लगाउन, दुर्घटना न्युनीकरणमा टेवा पु¥याउनका लागि जिल्लामा ट्राफिक प्रहरी चेक पोष्ट खडा गरेर ओहोर–दोहोर गर्ने सवारी साधनलाई अनिवार्य दर्ता गराउने वातावरण बनाउन आग्रह गरेको जनाएको छ ।