शुक्रवार, चैत्र २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ चैत । जिल्ला समन्वय समिति खोटाङले जिल्लाको सन्तुलित विकास र समृद्धि विषयक संगोष्ठी आयोजना गरेको छ । खोटाङको सन्तुलित विकास र समृद्धिका लागि जिल्ला समन्वय समितिले जिल्लाका १० वटै स्थानीय तहका प्रमुख प्रतिनिधिलाई सहभागी गराएर विज्ञको उपस्थितिमा संगोष्ठी आयोजना गरेको हो ।
शुक्रबारदेखि शनिबार सञ्चालन हुने संगोष्ठीको पहिलो दिन डा. धनप्रसाद सुबेदीले स्थानीय कला साहित्यको विकास, डा. मधुसुदन गिरीले संस्कृति र लोक साहित्य, डा. तारामणी राईले मातृभाषा संरक्षण र सम्वद्र्धन, डा. तोयानाथ खनालले विद्यालय शिक्षामा सुधारका उपायहरु, पर्शु राईले रैथाने ज्ञान र सिपको विकास र जीवन चौंलागाईले खोप तथा पूर्ण खोप सुनिश्चितता सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका छन् ।
शनिबार डा. हरि रोकाले स्थानीय अर्थतन्त्रको सवलीकरण र विकास सम्वन्धी दुई घण्टा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्लाको सन्तुलित विकास र समृद्धिका सवालमा साझा धारणा बनाउन र सहकार्यको वातावरणका लागि जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई एक ठाउँमा भेला गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
सोही कार्यक्रममा स्वास्थ्य कार्यालयले जिल्ला स्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप सुनिश्चितता र सरसफाई प्रवद्र्धन सम्वन्धी अभिमुखीकरण र दिगोपनाको लागि योजना तर्जुमा गोष्ठी गरेको छ ।