शनिवार, चैत्र २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम गर्ने भएको छ । चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले आगामी वर्ष दिक्तेलमा अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम गर्ने निर्णय गरेको हो ।
खोटाङको महत्व, संस्कृति र सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने लक्ष्यका साथ प्रत्यक्ष चित्रकला कार्यक्रम गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
प्रत्यक्ष चित्रकला कार्यक्रम अन्तरगत विभिन्न देशका वरिष्ठ चित्रकार तथा नेपालका मुर्धन्य चित्रकार गरी करिब ४० जनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका साथै खोटाङका महत्वपूर्ण ठाउँको तस्बीरलाई चित्र (क्यानभास)मा उतार्ने छन् ।
नगरपालिकामा हप्ता दिन बसेर तयार गरिएको क्यानभासहरुलाई काठमाडौं लगेर नेपालका उच्च पदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर चित्रकला प्रदर्शनी गर्ने योजना बनाइएको मेयर भट्टराईले जानकारी दिए ।
‘प्रत्यक्ष चित्रकला कार्यक्रमले खोटाङमा रहेका प्रतिभाहरुको प्रष्फुटनमा सघाउ पुग्नेछ,’ भट्टराईले भने ‘चित्रकला प्रदर्शनीमार्फत हाम्रो जिल्ला र नगरको संस्कार संस्कृति र पर्यटकीय क्षेत्रको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न मद्धत मिल्नेछ ।’ विदेसी चित्रकार आउजाउन गर्ने उपयुक्त मौसम पारेर चित्रकला कार्यक्रमको मिति निश्चित गरिने नगरपालिकाले जनाएको छ ।