Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बसाइँ सराइले रित्तियो राजापानी

    बसाइँ सराइले रित्तियो राजापानी


    • आइतवार, चैत्र २६ २०७९

    • नेपाल वाइड


    बसाइँ सराइले रित्तियो राजापानी
    तस्वीर: दमन राई

    खोटाङ, २६ चैत्र । आधारभूत सेवाको खोजीमा बसाइँ सर्दा हलेसी तुवाचुङ नगरपालिका-११  राजापानीको पुरानोगाउँ, माथिल्लो चप्लेटी र कटहरे–सिरुवानी गाउँ रित्तिएको छ ।

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माथिल्लो चप्लेटीमा १६ घर थियो। मानिसको चहलपहल बाक्लो हुन्थ्यो । अहिले माथिल्लो चप्लेटी गाउँमा एउटै घर छैन। झाडीले छोपिएको छ ।

    यस्तै‚ १८ घरको बसोबास रहेको राजापानीकै पुरानो गाउँमा अहिले धर्मबहादुर कार्की, महेश रेग्मी र नवराज रेग्मीको मात्र घर छ । तीमध्ये पनि धर्मबहादुर मात्र सपरिवार छन् ।

    नवराजका परिवार मोरङको विराटनगर छन्। स्थानीय विद्यालयका शिक्षक नवराज जागीरका कारण मात्र गाउँ अडिएका हुन् । महेशका परिवार काठमाडौंमा छन् ।

    कटहरे–सिरुवानीमा केही वर्षअघिसम्म १० घर थियो। अहिले कमलराज रेग्मी मात्र घर छ । कांग्रेसका पूर्व वडा सभापति रेग्मी राजनीतिकै कारण गाउँमा अडिएका हुन् ।

    hjhj.jpg

    ४४ घर रहेको पुरानो गाउँ, माथिल्लो चप्लेटी र कटहरे–सिरुवानीमा अहिले चार घर मात्र छ । माथिल्लो चप्लेटी र कटहरे–सिरुवानीमा झाडीभित्र घरको भग्नावशेष देखिन्छ । २०७८ सालमा लागेको डढेलोले अधिकांश रित्ता घर जलेका थिए । 

    यी गाउँमा प्रायः मानिस गाउँभन्दा तल साप्सुखोला किनारमा रहेको रेग्मीटारमा बसाइँ सरेको कटहरे–सिरुवानीका कमलराज बताउँछन् । यस्तै‚ केही परिवार उदयपुरको गाईघाट, विराटनगर, काठमाडौं लगायतका शहरमा बसाइँ सरेका छन् ।

    राजापानी सबैजसो टोलमा बसाइँ सर्ने दर अधिक छ । ३०–४० घर रहेको बेराखा बाहुनगाउँ अहिले सुनसान छ । गैरीखोलामा जुद्धबहादुर कार्कीको परिवार मात्र बाँकी छ ।

    कार्कीगाउँमा रमन कार्की सहित दुई परिवार बाँकी छन्। तल्लोबड्का, काहुले र ओखरबोटे तल्लोसान्नेमा तीन-तीन परिवार मात्र बाँकी छन् ।

    थुम्कीमा चार, पाटीहात्तेल र बेलबोटेमा ६-६ घर, रोकाडाँडा र सिमपानीमा सात-सात परिवार, नमुना टोलमा आठ-नौ घर मात्र बाँकी छन् । गाउँमा बस्न उत्प्रेरित गर्ने योजना तथा कार्यक्रम नहुँदा पनि बसाइँ सराइ रोक्न नसकिएको हलेसी तुवाचुङ-११ का वडाध्यक्ष अनिश कार्की बताउँछन् ।

    बसाइँ सराइका थरिथरि कारण 

    सुक्खाग्रस्त क्षेत्र राजापानीबाट बसाइँ सर्नुको एउटै मात्र छैन । केही खानेपानीको समस्या, केही थप सुविधाको खोजी, केही जंगली जनावरले दिएको सास्तीका कारण गाउँ छाडेको वडाध्यक्ष कार्की बताउँछन् । 

    राजापानीका अधिकांशको खेत रेग्मीटारमा छ । खोटाङकै उर्वर क्षेत्र रेग्मीटारमा राजापानीवासी खेतीका लागि मात्र झर्थे । २०७२ सालको भूकम्प पीडित लाभग्राहीमा परेका उनीहरूले रेग्मीटारमा घर निर्माण गरी बसाइँ सरे ।

    गाईघाट–दिक्तेल-सगरमाथा मार्गले छोएको रेग्मीटारमा अहिले २५ घर छ । सडकको दायाँ–बायाँ घर बन्ने क्रम जारी छ । रेग्मीटारमा पहिला तीन घर मात्र थियो । दिक्तेलबाट गाईघाट ओहोर दोहोर गर्ने सडकले छोएकाले अहिले बजारमा परिणत भएको वडाध्यक्ष कार्की बताउँछन् । रेग्मीटारमा गैरीखोलाका केही स्थानीय पनि बसाइँ आएका छन् । 

    rajapani.jpg

    अस्पताल, राम्रो शैक्षिक संस्था‚ रोजगारीको आदिको खोजीमा बसाइँ सरेका छन् ।  पछिल्लो समय मान्छे सुविधाभोगी हुँदै गएकाले पनि बसाइँ सर्ने गरेको स्थानीय हरि बुढाथोकी बताउँछन् ।

    “पहिला नुन‚ चामल लिन‚ घिउ बेच्न मान्छे फत्तेपुर पुग्थे । अहिलेका मान्छे सुविधाभोगी भए । दुःख गर्न मान्दैनन्,” बुढाथोकी भन्छन्, “अहिले खरबारी धेरै छ, गाईवस्तु धेरै छ भन्ने जमाना गए । तराईमा घर जग्गा छ‚ घडेरी छ भन्ने दिन आए ।” श्रोत: हिमालखबर

    सम्बन्धित समाचार