सोमवार, चैत्र २७ २०७९
नेपाल वाइड
खोटाङ, २७ चैत । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सहभोजको आयोजना गरिएको छ । वडा कार्यालय लिकुवापोखरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लिकुवापोखरीको संयुक्त आयोजनामा सोमबार सहभोजको आयोजना गरिएको हो । छुवाछुतमुक्त समाज निर्माणमा टेवा पुर्याउनका लागि दलित र गैर–दलितलाई एक ठाउँमा भेला गरेर सहभोजको आयोजना गरिएको हो ।
‘दलित समुदायले छोएको खान हुन्न’ भन्ने अन्धबिश्वास तोड्ने प्रयास स्वरुप सर्वसाधारणदेखि गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई लगायतको सहभागीतामा सहभोजको आयोजना गरिएको हो ।
देशमा जातीय विभेद विरुद्धमा कानून बनेका भए पनि हालसम्म कार्यान्वयन पक्ष फितलो भएकाले ‘मानवको कुनै जात हुँदैन, सम्पूर्ण मानव एक हुन्’ भन्ने सन्देश दिनका लागि सहभोजको आयोजना गरिएको युवराज कालिकोटेले जानकारी दिए । सहभोजमा दलित र गैर–दलित गरी १५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष पारस राई, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका वडाध्यक्ष बशन्त राई, दलका पालिका तथा वडा स्तरिय नेता, शिक्षक, कर्मचारी, बुद्धिजिवी, सर्वसाधारणको सहभागीता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले जातीय विभेद उन्मुलनका लागि पर्याप्त ऐन, कानुन तथा नियम बनेको भए पनि व्यवहारमा आकाश पातालको फरक रहेको तथा जातीय भेदभाव र छुवाछुतले समाजमा जरो गाडेको बताएका छन् ।
जातीय विभेद अन्त्याका लागि वडा कार्यालय र गाउँपालिकाले पहल गर्नुपर्ने सहभागीले जोड दिएका छन् । गाउँपालिका अध्यक्ष राईले छुवाछुतमुक्त वडा र पालिका बनाउनका लागि आगामी वर्ष आवश्यक योजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने आश्वसन दिएका छन् ।
सोही कार्यक्रममा गाउँपालिकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । लोपोन्मुख बनेको पञ्चेवाजाको संरक्षण प्रयास स्वरुप गाउँपालिकाले संघलाई पञ्चेबाजा हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राई लगायतले पञ्चेबाजा हस्तान्तरण गरेका हुन् ।
