मंगलवार, चैत्र २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ चैत्र । मलाई चैत १६ गते मानेभञ्ज्याङबाट अपरिचित नम्बरबाट फोन आयो–‘खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्य सकिनुभयो ! उहाँको सान्सारिक जीवन सकियो, चोला उठ्यो अब के गर्ने ?
साप्सुमा नै दाहासंस्कार गर्ने कि के गर्ने ? दाजुभाई र परिवारका सदस्यलाई खबर गरिदिनुपर्छ होला भन्ने कुरा गर्नुभयो फोन गर्ने मित्रले । म त तीन छक्क परें कुरा सुनेर । नौ नारी गले मेरो । अकल्पनीय र दुःखद समाचारले कहाँ हुनुहुन्छ त अहिले उहाँ ?
अर्थात् उहाँको मृत शरीर मैले प्रतिप्रश्न गरें । साकेला गाउँ पालिकाका कर्मचारी डीएम चाम्लिङलाई फोन गर्न सुझाब आयो ।
म आत्तिएँ र तत्कालै फोन गरें डिएमजीलाई । मेरो पूर्व परिचित अनन्य मित्र हुनुहुन्थ्यो उहाँ । केही समय पत्रकरिता क्षेत्रमा सकृय रहेर अहिले साकेला गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख पदमा सेवा प्रदान गरिरहनुभएको छ ।
उहाँले छनक पाईसक्नुभएको रहेछ मैले फोन गर्नुको उद्देश्य । मेरो मात्रै होइन समग्र खोटाङ्गे पत्रकारका अविभावक, आम सचेत नागरिककोलागि चिरपरिचित र सम्मानित व्यक्ति ।
मलाई फोन गर्ने साथीको भनाई र डिएमजीको नजिक–नजिकको प्रतिक्रियामा थोरै भिन्नता पाएँ । डिएमजीले भन्नुभयो–‘बेलुकी ८–९ बजे सुत्नु भएको अहिले उहाँको मृत्यतुल्य अवस्था छ । हातगोडा चल्दैनन्, दाह्रा किट्नु भएको छ, आँखा टुलुटुलु हेर्नुहुन्छ तर आवाज छैन ।’ समय करिव विहानको ९.५० बजे हुनुपर्छ ।
म दिक्तेलस्थित नगर पालिकाको कार्यालय निक्लिसकेको थिएँ घरबाट । मैले सोधेँ, ‘अस्पतालमा हो कि घरमा ?’ ‘बेलुकी आरामै सुत्नु भएको अहिलेसम्म नउठ्दा सुतिरहेको ठाउँमा भर्खरै यो अवस्थामा पाएको दाई । अब अस्पताल लैजान एम्बुलेन्स बोलाएको छु ।’ कुराकानीकै क्रममा एम्बुलेन्सको साइरन बज्यो । हाम्रो संवाद पनि विच्छेद भयो । डिएम मसँग कुरा गर्नेभन्दा पनि आदरणीय कृष्ण दाईलाई अस्पताल दौडाउन लाग्नुभयो र संवादमा पुर्णविराम लाग्यो । मैले लख काटें ।
मलाई छट्पटी भयो मसानघाट पु¥याउनबाट जोगाउन सकिन्छ कि भन्ने । यसवीचमा नेपाली काङ्ग्रेसका नेता तथा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईसँग कुरा गरेँ । उहाँ काम विशेषले विराटनगर जानुभएको रहेछ । मैले वृतान्त सुनाएपछि उहाँ पनि छक्क पर्दै अति संवेदनशील भएर हेलिकप्टर सेवाको लागि कुरा गर्ने वचन दिनुभयो ।
मेरो चिन्ता र छट्पटी कम भएन । मैले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई सेनाको हेलिकप्टरको लागि अनुरोध गर्दै नगरपालिकाकोतर्फबाट पत्र लेखें । लगत्तै जिल्ला समन्वय प्रमुख सनबहादुर राईसँग पनि रतन्छामा सहयोग पुर्याई दिनुहुन अनुरोध गरें । चौतर्फी हल्ला भयो कृष्ण दाई सिकिस्त विरामी भनेर । यही विचमा पटक–पटक साकेलाका प्रमुख प्रशासकीय अधिकृत महेश राईसँग हेलिकप्टर र दाईको स्वास्थ्य अवस्था बुझ्न कुराकानी भयो ।
म छट्टाई रहेको समयमा कृष्ण दाईको जेठा छोरा ओजोनबाबु, पत्रकारद्वय उत्तम चौलागाईं र हरिबोल आचार्यको चिन्तित र निराशाजनक टेलिफोन सम्वादले मलाई थप संवेदनशील बनायो । साकेला गाउँपालिकाका चिकित्सक डाक्टर किसन घिमिरे र डिएमजीसँग भएको २–३ पटकको कुराकानीले हेलिकप्टरको उडानको तयारी थियो ।
अस्पताल पुर्याउनुअघिको अवस्थामा सुधार भई होस् खुलेपनि थप उपचारको लागि काठमाडौं लैजानुपर्छ भन्ने नै थियो डाक्टरको सुझाब । डाक्टरको अन्तिम कुरा सुनेर हेलिकप्टर मगाउने निष्कर्षमा पुगि रहँदा उहाँको स्वास्थ्यमा क्रमशः सुधारले हामी सबैलाई आशा जगायो ।
चिकित्सकको भनाइ अनुसार पछिल्लोपटक स्वास्थ्यमा आएको चमत्कारिक सुधारले स्वास्थ्यको प्रभावकारी सेवा नहुँदा आकस्मिक सेवाका लागि हेलिकप्टर मगाएर लाखौं खर्चनुपर्ने दुर्घटनाबाट जोगिन हामी सफल भयौं ।
पत्रकार उत्तम चौलागाईं, ओजोनबाबुसँग कृष्ण दाईको स्वास्थ्य अवस्था र हामीले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा यस वीचमा पटक–पटक कुराकानी भएको थियोे । दाई गम्भीर विरामी हुनुभएको जानकारी हुनासाथ दिक्तेलमा कृयाशील पत्रकार दमन राई, हरिबोल आचार्य, सूर्य तामाङ, केदार मगर, उत्तम चौलागाईं, चिसाङ शेर्पा लगायतका साथीहरू मानेभञ्ज्याङ पुग्नुभयो ।
पत्रकार साथीहरूले जीपमार्फत दुई घण्टाको दूरी पार गर्दै मानेभञ्ज्याङ पुग्नुले पनि उहाँप्रतिको सम्मान र सद्भावलाई पुष्टि गर्दछ नै । उहाँको अवस्थामा सुधार भएपछि घर लैजान डाक्टरको सुझावलाई शिरोधार्य गर्दै गाडीमै चढाएर दिक्तेल लिएर आउनुभयो छोरा ओजनबाबु र पत्रकार साथीहरूले ।
हो, अहिले सबैलाई सामान्य लागेको छ तर उहाँको असामान्य अवस्थालाई यो अवस्थासम्म ल्याउनलाई योगदान पुर्याउने डाक्टर किसन घिमिरे तथा स्वास्थ्यकर्मी, समयमा अस्पताल पुर्याउने डिएम चाम्लिङ तथा परिवारका अन्य सदस्य तथा तमाम शुभेच्छुक धन्यवादको पात्र हुनुहुन्छ ।
काङ्ग्रेस नेता तथा पालिका अध्यक्ष रविप्रकाश राई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई अझ ज्यादा चिन्तित हुनुभएको मेरो ठम्याइ रह्यो । प्रजिअज्युले त पटक–पटक मलाई कृष्ण दाईको स्वास्थ्य अवस्थाका बारेमा चिन्ता प्रकट गरिरहनु भयो ।
विकास निर्माण र सानाठूला समस्यामा उहाँको चिन्ता र गतिशीलता प्रशंसनीय छ । खोटाङमा धेरै प्रशासकको काम गर्ने तौरतरिका हेरियो विगतमा तर, अहिलेका प्रजिअ जस्तो संवेदनशील भएको पाएको थिइँन मैले । हुनत आफ्नो आफ्नो हेराई र बुझाई हुन्छ सबैको । मेरो मतसँग अरुको मत नमिलेको पनि हुन सक्छ ।
लोकतन्त्रमा मुल्यांकन गर्ने स्वतन्त्रता सबैलाई छ । कृष्ण दाईको बारेमा पनि मेरो बुझाई त्यस्तै रह्यो प्रजिअको चिन्ता र चासोप्रति । उहाँको स्वास्थ्यलाभको कामना गर्ने, सहयोग र सद्भाव राख्नेहरू मेरो सूचनामा नरहेको कारण सबैको नाम अटाउन सकिन अतः शब्द मार्फत सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।
चैत १९ गते विहानै ५.४५ बजे म दिक्तेलस्थित कृष्ण दाईको घरमा स्वास्थ्य अवस्था बुझ्न जाँदै थिएँ । पुरानो पञ्च मावि नजिक एमाले खोटाङका जिल्ला अध्यक्ष रामप्रसाद दंगालसँग जम्का भेट भयो ।
गन्तव्यको विषय प्रष्ट्याएपछि मलाई साथ दिन तयार हुनुभयो उहाँ पनि । मेरो सूचनामा आए अनुसार विहान करिव दुई घण्टा हिड्नुहुन्छ उहाँ । सर्वदलीय–सर्वपक्षीय बैठकमा सहज राजनीतिक निकास निकाल्न समन्वयात्मक भूमिका खेल्न सक्ने राजनीतिक नेता रामजीसँग हामी राजनीतिक तथा व्यवहारिक कुराकानी गर्दै पुग्यौं कृष्ण दाईको घरसम्म ।
सिद्धहस्त कलमजिवी कृष्ण दाई चोटिलो शब्द चयन, बेजोड विश्लेषण र तथ्यपरक समाचार लेख्ने मात्रै होइन विषय केन्द्रीत वाक्पटुतामा समेत निपूण हुनुहुन्छ । केही समय उहाँको स्वस्थ्य अवस्था र पछिल्लो चिकित्सकको सुझाव लगायतको विषय बुझेर रामजी हामीबाट छुट्टिनु भयो ।
म अलिक आयुर्वेद र प्राकृतिक चिकित्सामा विश्वास गर्ने भएकोले जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डाक्टर उमेशकुमार मेहतालाई पनि कृष्ण दाईको थप उपचारका लागि बोलाएको थिएँ । डाक्टर मेहेता अनुभवी, दक्ष र आफ्नो सेवाप्रति इमान्दार हुनुभएको कारणले पनि यो क्षेत्रको विकास हुनेमा म विश्वस्त छु पछिल्लो समय ।
उहाँले आयुर्वेद क्षेत्रको महत्व र आवश्यकताका विषयमा व्याख्या गरिरहँदा नेपाली काङ्ग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेता त्रय केशवराज कार्की, सुमनबाबु आचार्य र शरणकुमार राईको गहकिलो उपस्थितिले आफ्नो पचास प्रतिशत मनोबल बढेको कृष्ण दाईको प्रतिक्रियाले झन् गहकिलो भयो त्यो दिनको भेटघाट ।
पूर्व निर्धारित कार्यक्रम भएकोले ८ बजे हिड्नै पर्ने थियोे मैले । साहित्यकार आभुषणले लगाउनु भएको घडीको सुई जब अघि बढ्थ्यो तब मेरो मन हलचल भईहाल्थ्यो । म सँगै गएका भाई राजन दाहालले पटक–पटक समयको सचेतता गरिसकेका थिए ।
मैले समयको प्रसङ्ग निकालेर विदा मागेँ तब साहित्यकार विष्णु दाईले घडीको पराधिनताको प्रसङ्ग ल्याउनु भयो । साहित्यप्रति लगाव तथा चोटिलो शव्द चयन गर्ने केशव आस्था, मेरो अविभावक ससुरा शरण राई र साख्खै नाताले सानाबुवा ससुरो तर गाउँले भएको नाताले बोलिचालिका लवजले भाई सुमन आचार्यको तिक्ष्ण शब्द वाण कम रसिलो र प्रफुल्लित थिएन ।
तर म समयको पराधिन भएकोले विदा मागेँ मैले । भाउजू पूर्णमायाँ र कान्छो छोरा जनार्दनले अतिथि सत्कारमा देखाउनु भएको अग्रसरता कम लोभलाग्दो थिएन । वजनदार र कर्णप्रिय शव्द भण्डार प्रस्फुटन भई रहेको त्यो रोमाञ्चित क्षणबाट बाहिरिनु पर्दा असहज महशुस भइरहेको थियोे । तथापि समयको पराधिन थिएँ म ।
अन्त्यमा, कुनै जमानामा राष्ट्रिय व्यक्तित्व बनाउनु भएको आदरणीय कृष्ण दाई केही वर्षदेखि पिंजडामा थुनिएको चरो झैँ पराधिन मनोभावमा किन बस्नु भएको होला ? कहिलेकाहीँ त्यस्तो खुलदुली लाग्छ मलाई । ओहो ! उहाँको लेखनशैली, विषयवस्तुलाई चिराफारा गर्ने सीप, पेशाको मर्यादा र सम्मानलाई आँच आउन नदिने चातुर्यता, वर्षातको समय होस् वा टन्टलापुर खडेरी कहिल्यै देखिएन उहाँको काम गर्ने शैलीमा परिवर्तन ।
पञ्चायतको कहालीलाग्दो पीडादायी अवस्था होस् या लोकतन्त्रको नाममा मन लाग्दो उछितो काड्ने स्वच्छता । मेरो बुझाईमा अहँ कहिल्यै विचलित हुनुभएन पेशागत मर्यादाबाट । सधैं अटल, स्वच्छ र मनमोहक सुन्दर हिमाल जस्तो कञ्चन । त्यसैले त होला उहाँको अस्वस्थताको हल्लाले खोटाङको गाउँवस्ती नै चिन्तित भयो ।
खोटाङमा क्रियाशील पत्रकारसाथीहरू महत्वका साथ अरु कामलाई थाँती राखि समर्पित हुँदै दुई घण्टाको मोटर बाटो तय गरेर घटनास्थल मानेभञ्ज्याङ नै पुग्नुभयो । यो चानचुने विषय पक्कै पनि होइन । स्थानीय सरकार, जिल्लाको प्रशासनिक संयन्त्र सजग बन्यो । यो मान, मर्यादा र तत्परता नै मानिसको सम्पत्ति हो ।
कलमसंग खेल्ने, नागरिकको अवसर र चुनौतीलाई उजागर गर्ने, सरकारको निरंकुशतालाई सच्याउन अग्रसर हुने आदरणीय कृष्ण दाई जो मेरो अविभावक पत्रकारको रूपमा म सम्मान गर्छु, उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विगतमा झैं भोलिको दिनमा पनि निरन्तर गतिशीलताको हार्दिक कामना गर्दछु । (लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर हुनुहुन्छ ।)