सोमवार, बैशाख ४ २०८०
दमन राई
खोटाङ, ४ चैत । सडक निर्माणका क्रममा कुलो बिग्रँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको भाडबेँसीमा डेढ सय रोपनी खेत बाँझिन पुगेको छ । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक (२७ किलोमिटर) निर्माणकाक्रममा लैकुखोला लुकुवा मुहान भएको बाँझगरा कुलोमा क्षती पुग्दा भाडबेँसीका ३२ घरका करिब १६० रोपनी खेत बाँझिएको हो ।
त्रि–धार्मिकस्थल हलेसीबाट फोक्सिङटार, उदयपुरको गाईघाट हुँदै धरान, बिराटनगर आउजाउ गर्ने छोटो दुरीको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक निर्माणका क्रममा २०७५ सालमा भाडबेँसीको कुलो बिग्रिएको हो ।
सडक निर्माण सकिए लगत्तै कुलो मर्मत गरेर सुचारु गराइदिने शर्तमा सडक बनाउन दिएको भए पनि हालसम्म कुलो मर्मत नभएको स्थानीय बिर्खबहादुर बुढाथोकी बताउँछन् ।
सो सडक संघीय सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख र हलेसी तुवाचुङ नगरपालिकाको गरी करिब डेढ करोडमा निर्माण गरिएको हो । धितुङबाट लैकुखोला पार गर्ने वित्तिकै कुलोलाई ‘क्रस’ गरेर कुलोभन्दा माथिमाथिबाट भाडबेँसीतर्फ सडक बनाइएको छ । कुलोमाथिबाट सडक खन्दा झरेको ढुंगा माटोले कुलो पुरिनुका साथै क्षतविक्षत बनेको छ ।
सडकका कारण कुलो बिग्रँदा वर्षमा तीन बाली पाक्ने उर्वर खेत बारीमा परिणत हुँदा स्थानीय निरास छन् । खेत बाँझिएको निहु पारेर केही स्थानीय बसाई सरिसकेका छन् भने कतिपय बसाई सर्ने मनोस्थितिमा पुगेका छन् ।

सुनकोशी किनारमा रहेको खेतमा स्थानीयले धान, मकै, गहुँ, उखु, आलु, लसुन, प्याज, मास लगायतका बालीनाली उत्पादन गर्दैआएका थिए । कुलो नहुँदा त्यी खेतमा आकाशे पानीको भरमा मकै मात्र उत्पादन भइरहेको छ । कुलो बिग्रेपछि लटरम्म फल्ने आँप र केराको बोट सुक्दैजाँदा फल दिन छाडेको छ । हिउँद वर्षा हराभरा देखिने भाडबेँसी हाल सुक्खा गाउँमा परिणत भएको छ ।
बाँझगरा कुलोको पानी पुग्दा भाडबेँसीका रणबहादुर भट्टराईको २१ रोपनी खेतबाट वार्षिक ३० मुरी धान, छ मुरी मकै, पाँच मुरी गहुँ भित्रिन्थ्यो । कुलो बिग्रिएपछि धान, गहुँ अन्यत्रबाट ल्याउनुपर्ने अवस्थामा पुगेका छन् भट्टराई परिवार । सोही ठाउँका बिर्खबहादुर बुढाथोकीको आठ रोपनी जग्गामा धान वार्षिक १२ मुरी फल्थ्यो । मकै, गहुँ, भटमास र उखु उत्ति नै फल्थे । खण्डहर बनेको खेतमा हाल मकै मात्र फल्छ । अन्य स्थानीयको समस्या बुढाथोकी र भट्टराईको भन्दा फरक छैन ।
कुलो नचल्दा स्थानीय यादव दाहालको १३ रोपनी, भोजराज सुवेदीको पाँच रोपनी, अमृतबहादुर कार्कीको पाँच रोपनी, बालकुमार कार्कीको पाँच रोपनी, चन्द्रबहादुर थलारीको तीन रोपनी, इश्वरबहादुर भट्टराईको २५ रोपनी, घनश्याम सुवेदीको सात रोपनी, कटबहादुर बरालको आठ रोपनी, जीवन कार्कीको १५ रोपनी, देबिका रायको १० रोपनी, दुर्गादेबी खत्रीको पाँच रोपनी, कल्पना खत्रीको पाँच रोपनी, बीरबहादुर बुढाथोकीको सात रोपनी, शंकर भट्टराईको १० रोपनी, क्षेत्रबहादुर सुवेदीको पाँच रोपनी र नारायण थलारीको नाममा भएको तीन रोपनी खेत बाँझिएको छ । १८ जनाको नाममा भएको खेत कतिपय जग्गा छुटाभिन्ना भएर अंशबण्डा हुँदा हाल ३२ घरले कजाइरहेका छन् ।

गाउँकै विकास हुने भएकाले सडक बनाउन जग्गा दिएको तर भत्किएको कुलो मर्मत नहुँदा आफुहरु मर्कामा परेको स्थानीय कटकबहादुर बराल बताउँछन् । “तीन बाली पाक्ने खेतमा अहिले मकै मात्र फल्छ । रोड चाहियो, जग्गा काटेर दियौं । विकास आउँदा दिन पनि पर्यो, अवरोध गर्ने कुरा भएन,” बरालले भने, “बारी काटेर जग्गा दियौं तर तीन चार वर्ष वित्दा पनि सम्झौता अनुसार कुलो मर्मत भएन । गाउँ खण्डहर हुँदा हामी मर्कामा परिहेका छौँ ।”
हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडकमा तामझामका साथ २०७७ असोज २६ गतेदेखि औपचारिक रुपमा गाडी छुटाउन थालिएको हो । त्यही सडकका कारण भाडबेँसीमा यातायातको पहुँच पुगेको छ । दैनिक गाउँमै गाडी ओहोर–दोहोर गर्छ । पुर्वका शहर जान आउन सहज भएको छ ।
उत्पादित कृषिउपज बजार पठाउने वातावरण बनेको छ तर त्यही सडकले भत्काएको र पुरिएको कुलो मर्मत नहुँदा गाउँ भने मरुभुमी बनेको छ । “सागसव्जी यही खेतमा हुन्थ्यो, यही खेतमा कोभी हुन्थ्यो, उखु हुन्थ्यो । सबथोक हुन्थ्यो । उखुको सक्खर बनाएर एकदुई पैसा लिन्थ्यौं, त्यही पैसाले माछामासु खान्थ्यौं,” कृष्णकुमारी भट्टराईले भनिन्, “आठ नौ जनाको परिवार छौँ । खेत बाँझिएपछि किनेर सागसव्जी खानुपर्छ । अर्काको खेतमा काम गर्नुपर्छ । घरीघरी बसाई जाऔं भन्छु बुढा मान्दैन ।”
कुलो पुरिएकै वर्ष यादव दाहाल भाडबेँसी छाडेर बिराटनगर बसाई सरिसकेका छन् । कल्पना खत्री गाईघाट झरेकी छन् । झापा झरेकी दुर्गादेवी खत्री एक वर्षपछि पुःन गाउँ फर्किएकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान मेयर इवन राईदेखि वर्तमान मेयर बिमला राईलाई बाँझगरा कुलो मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएको पशुपति भट्टराईले बताए । निवर्तमान प्रदेश सांसद राजन राई र निवर्तमान संघीय सांसद बिशाल भट्टराई स्थलगत अवलोकन गरेर आश्वसन मात्र बाँडेर फर्किएको स्थानीयको गुनासो छ । कुलो मर्मतका लागि स्थानीय दुई पटक नगरपालिकामा डेलीगेसन गएका थिए ।
पानीको सुविधा भएको तथा राम्रो उव्जाउ हुने भएकाले कतिपय स्थानीयले विदेशको मरुभूमीमा पसिना बगाएर कमाएको पैसाले भाडबेँसीमा खेत जोडेका थिए । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिर्खबहादुर परिवार विदेशमा कमाएको पैसाले २०६० सालमा खेत किनेर भाँडबेँसी झरेका थिए । पशुपति भट्टराईको परिवारले पनि विदेशमा कमाएको पैसाले २०७० सालमा भाडबेँसीमा खेत जोडेका हुन् ।

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक निर्माणकाक्रममा भाडबेँसी पुछारमा लगिएको माझ कुलो र धितुङको कटहरेतर्फको कटहरे कुलो पनि बिग्रिएको थियो ।
तर हाल प्रदेश सरकारको आर्थिक सहयोगमा माझ कुलो र कटहरे कुलो मर्मत भइरहेको छ । कुलोले कटहरेमा कुलोसँगै १० स्थानीयको खेत पुरिएको स्थानीय हरि बुढाथोकी बताउँछन् । कटहरेमा राजबहादुर कार्की, केशव कार्की, नीरबहादुर कार्की, डिकबहादुर बुढाथोकी, छविलाल नेपाली, रामबहादुर कार्की, भीमबहादुर बुढाथोकी, कुमार बुढाथोकी, हरि बुढाथोकी र रामबहादुर कार्कीको खेत पुरिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आउनु (२०७४)अघि हलेसीबाट धितुङको हात्तीआहालसम्मको ट्र्याक खोलिएको थियो । हात्तीआहालबाट रेग्मीटारसम्मको बाँकी खण्डको काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट पुरा गरिएको थियो ।
श्रोत : हिमालखबर