सोमवार, बैशाख ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान नसक्ने दुरदराजका सर्वसाधारणलाई सेवा दिने उद्धेश्यले गाउँपालिकाले काठमाण्डौ मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिबिरको पहिलो दिन सोमबार ८७५ जना नागरिकले विभिन्न किसिम स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ । पृथ्बी माबि बाक्सिलामा आयोजना गरिएको स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया तथा सर्जरी, मानसिक रोग, हाडजोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग, मुटु रोग सहित १४ किसिमको रोगको चेक जाँचको व्यवस्था मिलाइएको छ ।
शिविरका लागि आवश्यक पर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गरेको छ । शिविरबाट पहिचान भएका शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामीलाई ५० प्रतिशत छुटमा काठमाण्डौ मेडिकल कलेजमा उपचार गरिदिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।
उपचारका लागि छनौट भएका बिरामीलाई अस्पताल जाने र आउने खर्च गाउँपालिकाले उपलव्ध गराउने छ । शिबिरमा पालिकाका विभिन्न वडाका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतको भीड लागेको थियो । शिविरस्थलसम्म जान र उपचारपछि घर र्फकनका लागि गाउँपालिकाले एक वटा बस रिर्जभ गरेको छ ।
शिविरका लागि काठमाण्डौ मेडिकल कलेजका २६ जना चिकित्सकको टोली बाक्सिला पुगेका छन् । काठमाण्डौ मेडिकल कलेजका सञ्चालक एवं प्रतिनिधिसभा सदस्य सुनिल शर्माले उद्घाटन गरेको स्वास्थ्य शिबिर मंगलबार बिहान ११ बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
शिबिर उद्घाटन कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, कांग्रेस खोटाङका उपसभापति इवन राई लगायतको उपस्थिति रहेको थियो ।






