मंगलवार, बैशाख ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ बैसाख । खोटाङका पहिचान पक्षधर समुहले कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमुलक आन्दोलन थालेको पुःन नामांकन संयुक्त संघर्ष समिति अन्तरगतको युवा परिचालन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको हो ।
निर्मल राई नेतृत्वको युवा परिचालन समितिले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ढोकै अगाडि करिब दुई सयप्रति क्यालेण्डर जलाएको हो ।
नगरपालिकाको सचिवालयमा ढोक्रोमा राखिएको क्यालेण्डर झिकेर जलाइएको युवा परिचालन समितिका संयोजक राईले बताए । क्यालेण्डर जलाउनेक्रममा उनीहरुले कोशी प्रदेश विरुद्ध नाराबाजी गरेका थिए ।
पुःन नामांकन संयुक्त संघर्ष समिति अन्तरगत जिल्लामा राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ । पुःन नामांकन संयुक्त संघर्ष समितिले चैत २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापन–पत्र बुझाउँदै बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको थियो । बोर्ड, लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएको संघर्ष समितिले जनाएको छ ।