मंगलवार, बैशाख ५ २०८०
नेपाल वाइड
खोटाङ, ५ बैसाख । स्थानीय तहमा बालबालिका सम्वन्धी ऐन कार्यान्वयनका लागि राष्ट्रिय वाल अधिकार परिषदले खोटाङमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । जिल्लाका स्थानीय तहमा बालबालिका सम्वन्धी ऐन, २०७५ को कार्यान्वयनका लागि परिषदले मंगलबारदेखि बाल संरक्षण घट्ना व्यवस्थापन सम्वन्धी जिल्ला स्तरिय अभिमुखीकरण तालिम सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा परिषदले जिल्लाका स्थानीय तहका उपाध्यक्ष लगायतलाई सहभागी गराएर जिल्ला समन्वय समितिको सभाहलमा अभिमुखीकरण तालिम आयोजना गरेको हो ।
प्रत्येक स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि निर्माण गर्न, स्थानीय बाल अधिकार समिति गठन गर्न, बाल कल्याण अधिकारीको नियुक्ती गर्न, बालकोषको स्थापना गर्न र समाजसेबी तथा बाल मनोविज्ञको सूचीकरण गरी परिचालन गर्ने/गराउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको राष्ट्रिय वाल अधिकार परिषदका उपाध्यक्ष बम बानीयाँले बताए ।
जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिकाले मात्र बाल कल्याण अधिकारी तोकेको जानकारी दिइएको छ । अभिमुखीकरण तालिमको माध्यमबाट बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी उनीहरुको सर्वोत्तम हित कायम गर्नका लागि टेवा पुग्ने जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले बताए । कार्यक्रमका वक्ताहरुले बालबालिकाको हितमा बनेका ऐन कानून कार्यान्वयनको अवस्था नाजुक रहेको औंल्याएका छन् ।
अभिमुखीकरण तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राई, उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्का, बराहपोखरी गाउँपालिका उपाध्यक्ष भुवलराज राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई, रावाबेँसी गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, परिषदका सदस्य सचिव इन्द्रादेबी ढकाल, राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका निमित्त प्रमुख नेत्र गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतले धारणा राखेका थिए ।