बिहिवार, बैशाख ७ २०८०
नेपाल वाइड
खोटाङ, ७ बैसाख । खोटाङमा शिक्षक सेवा आयोग उत्तिर्ण गर्दै स्थायी दरबन्दीमा सिफारिस भएकी शिक्षिकाले विपद व्यवस्थापन कोषलाई नगद सहयोग गरेकी छन् ।
शिक्षक सेवा आयोगबाट स्थायीमा नाम निकालेर विद्यालयमा सिफारिस भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठाडोफुलेलीकी सर्मिला राईले गाउँकै खालिङ राई विपद व्यबस्थापन कोषलाई नगद २५ हजार सहयोग गरेकी हुन् ।
स्थायी शिक्षिकामा नाम निकालेको खुसीयालीमा सर्मिलाले विपद व्यबस्थापन कोषलाई नगद सहयोग गरेकी हुन् । शिक्षिका राईले विपद व्यबस्थापन कोषका अध्यक्ष मुगाधन राई, कोषाध्यक्ष कला राई, सचिव गंगा साम्पाङ, रोक्तोकोम महिला समुहकी उपाध्यक्ष जैमती राई लगायतलाई चेक हस्तान्तरण गरेकी छन् ।
बुईपाका खालिङ राई समुदायबाट पहिलो स्थायी सरकारी कर्मचारी बन्न सफल भएको अवसरमा आफ्नो समुदायको उन्नती तथा कोषले लिएको उद्धेश्यको सफल कार्यान्वयनका लागि नगद सहयोग गरेको शिक्षिका राईले बताईन् । २५ हजार थप भएसँगै कोषको रकम ५० हजार पुगेको छ ।
गाउँकै जनचेतना आविको प्रअका रुपमा काम गर्दै आएकी सर्मिला स्थायी भएपछि खोटेहाङ गाउँपालिकाको सप्तकन्या अधारभुत विद्यालयमा सिफारिस भएकी छन् । बुईपा निवासी खालिङ राई समुदायको पहिलो स्थायी महिला कर्मचारी बनेकी शिक्षिका राईलाई आफन्तले अबिर लगाएर बधाई दिएका छन् ।
यातायात खर्च अभावमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थाका घाईते तथा बिरामीको सहयोगार्थ २३ घरको देउसीभैली कार्यक्रमबाट संकलन भएको २५ हजारबाट ठाडोफुलेलीमा २०७९ सालमा खालिङ राई विपद व्यबस्थापन कोष स्थापना गरिएको हो ।
‘यातायात खर्च अभावमा बिरामीले ओछ्यानमै छटपटाउन नपरोस् र समयमै स्वास्थ्य संस्थासम्म पुर्याएर उपचार गरी बचाउन सकियोस्’ भन्ने लक्ष्यका साथ कोष स्थापना गरिएको हो ।
वडाभित्रको स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्थामा दुई हजार पाँच सय, जिल्लाभरीको स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्थामा १० हजार र जिल्ला बाहिरको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्थामा ३५ दिनका लागि बिनाव्याज २५ हजारसम्म यातायात खर्च उपलव्ध गराउने व्यवस्था छ ।
हालसम्म कोषबाट पाँच जनाले सेवा लिइसकेका छन् । कोषको रकम १० लाख पुर्याउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । हाल यातायात खर्च मात्र उपलव्ध गराउँदै आएको कोषले रकम बृद्धि हुँदै जाँदा उपचारमा समेत सहयोग गर्ने लक्ष्य लिएको छ ।