सोमवार, बैशाख ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ बैसाख । मालपोत कार्यालय खोटाङ प्रमुख बिहिन हुँदा सेवाग्राही मारमा परेका छन् । तत्कालिन कार्यालय प्रमुख धर्मराज आचार्य चैत २९ गते सरुवा लिएर अन्यत्र गएपछि मालपोत कार्यालय प्रमुख बिहिन बनेको छ ।
कार्यालय प्रमुख नहुँदा मालपोतमा नामसारी, नाम संशोधन, श्रेष्ता कायम लगायतका अर्धन्यायीक काम कारबाही ठप्प भएको छ । कार्यालय प्रमुखको अभावमा हाल दृष्टिबन्धक, ससिम जग्गा पास, जग्गा रोक्का र फुकुवा लगायतका सेवा मात्र नियमित भइरहेको निमित्त कार्यालय प्रमुख जगत श्रेष्ठले बताए ।
जग्गा नामसारीका लागि बैसाख २ गतेदेखि मालपोत कार्यालय धाइरहेका अर्जुनधारा नगरपालिका–११ झापाका मनिकुमार राईको काम हालसम्म अघि बढ्न सकेको छैन । राई पाथेका र फेदीमा बुवाको नाममा रहेको जग्गा आमाको नाममा नामसारीका लागि मालपोत कार्यालय पुगेका हुन् ।
नयाँ कार्यालय प्रमुख ‘आज आउँछ, भोली आउँछ’ भन्दै दैनिक मालपोत कार्यालय धाएर हप्ता दश दिन बितेको राईले गुनासो गरे । यस्तै, जग्गा नामसारीका लागि उदयपुर गाईघाटका निमा तेम्बा शेर्पा बैसाख ४ गतेदेखि मालपोत धाइरहेका छन् ।
निर्मलीडाँडामा आमाको नाममा रहेको जग्गा दाजुभाईको नाममा नामसारीका लागि शेर्पा दाजु फुर्वा शेर्पासँग गाईघाटबाट दिक्तेल आएका थिए । मालपोतमा कार्यालय प्रमुख नभएको बेला होटलमा बस्दा दैनिक खर्चको मात्रा बढिरहेको शेर्पाले बताए । मालपोतका कर्मचारीले ‘कार्यालय प्रमुख छैन’ भन्दै सेवाग्राहीलाई पन्छाउने गरेका छन् ।
मालपोतमा कार्यालय प्रमुख भए/नभएको विषयमा जानकारी नपाउँदा टाढा–टाढाबाट दिक्तेल पुगेका सेवाग्राही मारमा परिरहेका छन् । कतिपय सेवाग्राही काम नहुने भएपछि घर फर्किने गरेका छन् । नजिकका सेवाग्राही तत्काल फर्किए पनि टाढाबाट आएका सेवाग्राही होटलमा बस्ने गरेका छन् ।
भूमी व्यवस्था तथा अभिलेख विभाग बबरमहलले बैसाख ४ गते नयाँ कार्यालय प्रमुखका रुपमा रबिन मगरलाई काज सरुवामा पठाएको जानकारी दिएको छ तर परिवारको स्वास्थ्य सम्वन्धी समस्याले मगर हालसम्म रमना लिएर कार्यालयमा हाजिर हुन सकेका छैनन् ।
मालपोतमा प्रमुख नभएको अवस्थामा निमित्त प्रमुखको जिम्मेवारी पाएका श्रेष्ठलाई अर्धन्यायीक काम कारबाही गर्ने अख्तियारी नहुँदा सेवाग्राही भने काम बिहिन घर फर्कन बाध्य छन् ।