Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उराठीलो गाउँघर

    उराठीलो गाउँघर


    • शनिवार, बैशाख १६ २०८०

    • भिम राई


    उराठीलो गाउँघर
    बराहापोखरी गाँउपालिका-१ को भिरखर्क गाउँ । तस्बिर : भिम राई

    खोटाङ, १६ वैशाख । खोटाङ जिल्लाको बाराहा पोखरी गाउँपालिका १ बाराहाको भिरखर्क गाउँमा दुईवटा खानेपानीको सिमेन्टले बनाईएको धारा छ । छाडेर गएको घरको घुर्‍यानमा गेटफूल राताम्यै फुलेका छन् ।

    बारीमा रोपिएको रिठाको दानाहरु भुईभरी छरिएर रहेका छन् । रुद्राक्षको फल लागेको छ । खेतियोग्य सबै जमिनहरु लमतन्न बाँझिएको छ । घरहरुको कंकालमात्र देखिन्छ । त्यो गाउँमा मान्छे बस्दैनन् । कुनै समय ८/१० परिवार बसेका सानो रमाईलो गाउँ बसाई सराईकै कारण उराठिलो बनेको छ । कतै यात्रीले बाटो बिरायो भने सोध्ने मानिस भेटिन्न ।

    केही बर्ष अगाडि ८ घरपरिवार झुरुप्प बसेको जन्तेढुँगाको चिसापानी १ भदौरे स्थित कोइराला गाउँमा अहिले दुई परिवारमात्र बसोबास गर्छन् । “सबैले रितो घर छाडेर शहरतीर लागे” स्थानीय नन्दराज कोईरालाले दुखेसो सुनाउँछन् । उनको छिमेकमा भएको एकाघरमा दुईजना वृद्ध–वृद्धामात्र छन् । खेतिपाती गर्नसक्ने सबै शहर छिरेका हुन् ।

    केही समय अगाडि ५५ घर भएको खोटेहाङ गाउँपालिकाको सावाकटहरे कोईराला गाउँमा कुनै समय भाई सल्लाह गर्दामात्र पनि आगनभरी मान्छे हुन्थे । अहिले यो गाउँ प्राय रितो भएको छ । आज भन्दा दश बर्ष अगाडि ५५ घर परिवार बस्दै आएको गाउँमा अहिले मरितरि १५ घर बस्दै आएका छन् । यस मध्ये दुई घर बसाई हिड्न तरखरमा रहेका छन् । “सायद यहि महिना बाटो लाग्ने होलान् ।” स्थानीय एक चौलागाई दाईले सुनाए ।

    अहिले पहाडि ग्रामिण क्षेत्रको सबैभन्दा विकराल समस्या भनेको चर्को बसाई सराई बनेको छ । शिक्षा र स्वास्थ्यको कारण देखाएर धेरै जसो मानिसहरु बँसाई सर्ने गरेको चिसापानीका विवश राईले बताए । उसो त जन्तेढुँगाको चिसापानी बजारमा एउटा रमाईलो कथा नै बनेको छ । कोही युवा वैदेशिक रोजगारीमा गयो भने उसले सुनकोशी तरेर आउँदैन । उसले आफुसँगै सबै परिवारलाई मधेस हिँडाई हाल्छ । यो कुरामा जन्तेढुँगा गाउँपालिकाका उपाध्याक्ष खेम खडका समेत सहमत छन् ।

    dara.jpg

    उपयोग विहिन बनेको सिमेन्टेट धारा ।

    यस्ता चर्को समस्याको रुपमा रहेको या विषयको मुख्य जड भन्नु नै भौतिक पूर्वाधार नभई मानिसको मानवीय पक्षसँग जोडिएका अन्य अवसरहरुले गर्दा भएको जो कोहीले स्वीकारेका छन् ।

    “मानिसलाई पानी, बिजुली, बाटो र राम्रा राम्रा भवनहरुले बसाई जानबाट नरोक्दो रहेछ ।” चिसापानी खुटाका श्यामसुन्दर कार्कीले गुनासो सुनाए । शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले गर्दा मानिसहरु आफ्नो गाउँ छाडेर पलायन हुँदा रहेछन् । उनको अनुभवमा गाउँ-गाउँमा सडक पुगेको छ । बिजुली बत्ति पुर्‍याउने काम भईरहेको छ । भौतिक पुर्वाधारको ठुला ठुला भवनहरु बन्दैछन् ।

    तर मानिसहरु गाउँमा बस्नै चाहदैनन् । उनिहरुलाई रोक्नै नसकिने गरि बसाई हिँडिरहेका छन् । सबै खेतियोग्य जमिन छाडेर उनिहरु दिनप्रतिदिन गाउँ छाडिरहेका छन् । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले सानो किस्सा सुनाए ।

    “हामीले बल्ल बल्ल विकास होस भनेर गाउँहरुमा मोटरबाटोको ट्रयाक खोल्ने र ट्याक्टर सम्म चल्ने बाटो बनाउनमात्र पर्छ । मानिसहरु त्यही ट्याक्टरमा सजिलो गरि घरको खाँट, गुन्द्रि, पिरा, हुँदै जाँतो सम्म लोड गरेर बसाई हिड्छन् ।” अहिलेको यर्थात यहि हो ।

    वास्तविकतामा आधारित अनुभवहरुले उहि भन्छ । समस्या बसाई सराई नै हो । खेतियोग्य जमिन बाँझो हुनु, अत्याधिक जंगली जनवारले दुःख दिनु मानिसको चहल पहल घट्नु कै कारण हो । आम मानिसको बुझाई रहेको छ । यसका साथै गाउँ-गाउँमा वन डढेलो लगाएर जंगली जिवजन्तु तथा जनवारहरुलाई वस्ति सम्म बोलाउने काम समेत भईरहेको उनिहरुले दुखेसो पोख्छन् । यसकालागि राज्यले के गर्छ ? आम मानिसको सोधाई छ ।

    अहिले मुलुकामा तीन तहको सरकार रहेको छ । तीनै तहको सरकारले बनाएको योजनाहरुले यी समस्यालाई सम्बोधन गर्ने आफ्नो कर्तव्य ठान्छ । तर त्यसता किसिमका योजनाहरु निर्माण भएका र कार्यन्वयनमा आएको भने कतै पाईएको छैन । भने सबै भन्दा मुख्य कुरा महत्वकाँक्षी सपनाहरु बाँढेका नेतृत्वले यसको समाधानको दिशामा दिर्घकालिन योजना निर्माण गर्नै सकेका छैनन् ।

    आम मानिसहरुको बुझाईमा समेत समस्या छ । गाउँ छाडेर गएपछि सबैकुरा सहज हिसाबले प्राप्त हुने र सरल तरिकाले जीवन चल्ने सपनाहरुको कारण स्वर्ग जस्तो हाम्रो गाउँ र जीवन धान्न सजिलो हाम्रो माटाहरु रुखिदै गएका छन् । यतातिर कसैले चासो गरेमा सिँगो मुलकको अर्थतन्त्रमा सहयोग पुग्ने किसिमको आर्थिक व्यवस्थापनमा समेत सहयोग पुग्न सक्ने प्रशस्तै संभावनाहरु अहिले पनि रहेका छन् र त्यो संभव पनि छ ।

    kuwa.jpg
    गाँघरमा कुनै बेला अधिक प्रयोगमा आउने कुवा, काठको धारा । तस्बिरहरु : भिम राई

    सम्बन्धित समाचार