बिहिवार, बैशाख २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ बैसाख । खोटाङमा गोठालो गएकी युवती बलात्कृत भएकी छन् । बाख्रा गोठालो गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षकी युवती बलात्कृत भएकी हुन् । युवतीलाई बाख्रा चराउन गएका २९ वर्षीय प्रतापजङ राईले जोरअंगेरी जंगलमा बैसाख १८ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका अभियुक्तले युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको आफन्तले बताएका छन् ।
फुत्किन खोज्दा अभियुक्तले केसमा समातेर तान्दै ओढारमा लगेर जवरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ । प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको युवतीका परिवारले बताएका छन् ।
करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ । मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पुर्याई परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ ।
युवतीलाई सोधपुछ गर्दा घटनाको बारेमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको छ ।
जवरजस्ती करणी गरेर ज्यान मार्ने प्रयास गरेका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्तले बैसाख १८ गते जिल्ला प्रहरी कार्याल खोटाङमा जाहेरी दिएका छन् । घटना लगत्तै आरोपित फरार भएकाछन् ।
घटनाको विषयमा अनुसन्धान सँगै फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
यस्तै, खोटेहाङ गाउँपालिकामा कार्यरत महिला कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनालाई मिलापत्रमा टुंग्याइएको छ । गाउँपालिकामै कार्यरत पुरुष कर्मचारीबाट मादक पदार्थ सेवन गरेको समयमा शौचालयमा महिलाको शरीरमा छोएर गरिएको यौन आसयको दुव्र्यवहारको घटनालाई माफ मगाएर मिलापत्र गराइएको हो ।
दुबै जना गाउँपालिकाका करारका कर्मचारी हुन् । घटनाका विषयमा दुबै पक्षबीच गाउँघरमै ‘अण्डर स्टेण्डिङ’ भएको जानकारी आएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।