Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रेखा थापादेखि शेरधन र राजेन्द्रकुमार राई निर्वाचन आयोगको कारबाहीमा

    रेखा थापादेखि शेरधन र राजेन्द्रकुमार राई निर्वाचन आयोगको कारबाहीमा


    • मंगलवार, श्रावण ९ २०८०

    • नेपाल वाइड


    रेखा थापादेखि शेरधन र राजेन्द्रकुमार राई निर्वाचन आयोगको कारबाहीमा
    शेरधन राई, रेखा थापा र राजेन्द्रकुमार राई ।

    खोटाङ, ९ साउन । निर्धारित समयमा निर्वाचन खर्च विवरण सार्वजनिक नगरेका कारण कोसी प्रदेशका दुई पूर्वमुख्यमन्त्री जरिवानामा परेका छन् । २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको समयमा सार्वजनिक नगरेका कारण पूर्वमुख्यमन्त्री शेरधन राई र राजेन्द्रकुमार राई जरिवानामा परेका हुन् ।

    दुई पूर्वमुख्यमन्त्रीलाई (निर्वाचन कसुर तथा सजाय), ऐन २०७३ को उपदफा (४) बमोजिम जनही १५ हजार जरिवानामा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    नेकपा एमालेका नेता शेरधन भोजपुरबाट प्रतिनिधिसभा सदस्य उठेका थिए । यस्तै, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार भोजपुर प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य उठेका थिए ।

    निर्वाचन आयोगका अनुसार सुनसरी–३ बाट प्रतिनिधिसभामा उठेका कांग्रेसका बिजयकुमार गच्छादार, मोरङ–३ बाट उठेका राप्रपाकी रेखा थापा लगायतले निर्वाचन खर्च सार्वजनिक गरेका छैनन् ।

    यस्तै, सुनसरी प्रदेश क्षेत्र नम्बर २ बाट प्रदेशमा उठेका कांग्रेसका राजीव कोईराला, सुनसरी प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका माओवादी केन्द्रका उम्मेदवार द्धारिकलाल चौधरी लगायत पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगर्दा जरिवानामा परेका छन् ।

    उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गरी सार्वजनिक गर्नुपर्ने निर्वाचन ऐनमा व्यवस्था छ ।
    प्रतिनिधिसभामा प्रदेशभरीका कुल ४३७ उम्मेदवारमध्ये २३८ जनाले निर्वाचन खर्च सार्वजनिक गरेको, १९३ जनाले सार्वजनिक नगरेको र ६ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    यस्तै, प्रदेशसभातर्फका ५१० उम्मेदवारमध्ये ३०१ जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको, २०३ जनाले सार्वजनिक नगरेको र ६ जनालाई स्पष्टीकरण सोधिएको छ ।

    प्रतिनिधिसभातर्फ सुनसरीका ६६, मोरङका ६२, झापाका ५५, भोजपुरका ४, ताप्लेजुङका ३, पाँचथरका २ र उदयपुरका १ उम्मेदवारले निर्वाचन खर्च सार्वजनिक गरेका छैनन् ।

    प्रदेशसभातर्फ सुनसरीका ६९, मोरङका ६७, झापाका ५३, भोजपुरका ५, पाँचथरका ३, ताप्लेजुङका ३, उदयपुरका २ र खोटाङका १ उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।

    सम्बन्धित समाचार