सोमवार, श्रावण २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ साउन । नेतृत्वप्रति असन्तुष्टी जनाउँदै खोटाङमा नेकपा एमालेको वडा कमिटिले ‘तटस्थ’ बस्ने निर्णय गरेको छ । वडा कमिटिले गरेका निर्णय तथा मागलाई उपल्लो कमिटिका नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा वडा कमिटिले ‘तटस्थ’ बस्ने निर्णय गरेको हो ।
साउन २८ गते बसेको वडा कमिटिको सचिवालय बैठकले ‘वडा कमिटिले गरेका निर्णयहरुप्रति पार्टीले कुनै पनि सुनुवाई नगरेपछि वाध्य भएर वडा कमिटिलाई निस्क्रिया गराउने र अर्को सुचना नआएसम्मका लागि पार्टी कार्यालय बन्द गराउने निर्णय गरेको छ ।
याम्खामा बन्न लागेको १५ शैयाको अस्पताललाई अन्यत्र नसार्न गरिएको आग्रहलाई नेतृत्व तहले बेवास्ता गरेको, गाउँपालिकामा आफ्नो पार्टीले जितेको भए पनि महत्वपूर्ण बैठक तथा योजना छनौटमा वडा कमिटिलाई खबर नगरेको, नेतृत्वले वडामा पार्टीको गतिविधि गर्न सक्रियता नदेखाएको लगायतका असन्तुष्टी जनाउँदै वडा कमिटिले ‘तटस्थ’ बस्ने निर्णय गरेको एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि सचिवालय सदस्य दिपक पौडेलले बताए ।
वडा कमिटि अध्यक्ष रबिन्द्र राईको अध्यक्षतामा बसेको बैठकमा वडा कमिटिका सचिवालय सदस्यहरु दिपबहादुर खत्री, केशव पराजुली, खगेन्द्रप्रसाद पराजुली, सइन्द्र राई, हरि नेपाल, प्रेम खत्री, अम्बर प्रधान लगायतको उपस्थिति रहेको थियो ।
नेतृत्वप्रति अन्य वडा कमिटिमा पनि असन्तुष्टी देखिएको छ । वडाले एउटा निर्णय गर्दा माथिल्लो कमिटिले अर्कै काम गर्ने, ‘हुन्छ–हुन्छ’ भन्ने तर बोलेको काम नगर्ने, वडा कमिटिको आवाज नसुन्ने, वडा कमिटिलाई चलायमान गराउन ध्यान नदिने लगायतका प्रवृत्ति बिरुद्ध चेतावनी स्वरुप वडा कमिटि ‘निस्क्रिया’ राख्ने निर्णय गरिएको एमाले वडा कमिटि अध्यक्ष राई बताउँछन् ।
एमाले वडा कमिटिले गाउँपालिकामा करारका कर्मचारी नियुक्तीका विषयमा समेत असन्तुष्टी जनाइरहेको छ । आफ्नो माग सुनुवाई नभए राजीनामासम्म गर्ने तयारी गरिएको वडा कमिटि अध्यक्ष राईले बताए ।