मंगलवार, आश्विन ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० असोज । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी कार्यालय छाडेर हिँडेका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले दशैंतिहारको मुखमा विभिन्न योजना तथा कार्यक्रमको आर्थिक कारोबार थाँती राखेर कार्यालय छाडेका हुन् ।
रेग्मी चेकमा हस्ताक्षर गर्न बाँकी राखेर बिनाजानकारी सोमबार बिहानदेखि सम्पर्क विहिन बनेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए । श्रोतका अनुसार दिक्तेलसम्म बाईकमा गएका रेग्मी दिक्तेलबाट एक कार्यालयको गाडी चढेर जिल्लाबाट बाहिरिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मीले अचानक चेकमा हस्ताक्षर गर्न बाँकी राखेर कार्यालय छाडेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले अनुचित शिर्षकमा भुक्तानी दिन दवावमा परेका कारण रेग्मीले कार्यालय छाडेको अनुमान गरिरहेका छन् भने कतिपयले रेग्मी गैर–जिम्मेवार ढंगले कार्यालयको कामकाज भद्रगोल छाडेर हिँडेको भन्दै आलोचना गरिरहेका छन् ।
कांग्रेसका दिप्रुङ सभापति अमृत गिरीले सामाजिक सञ्जालमा ‘फर्जी हिसावको बिलमा चेक काट्न लगाएपछि प्रमुख प्रशासकीय अधिकृत फरार’ भएको दावी गरेका छन् । गिरीको स्टाटसमा गाउँपालिका अध्यक्ष राईले त्यसको ‘प्रमाण सहित पुष्टि गर्न’ चुनौती दिएका छन् ।
प्रतिक्रियाका लागि फोन गर्दा रेग्मीले बोकेको अफिसियल र व्यक्तिगत फोन नम्बर उठेन । गाउँपालिका अध्यक्ष राईले भने भुक्तानीका लागि अनावश्यक दवाव नदिएको बताए । “इन्धनको पैसा ६ लाख जति तिर्नुछ, त्यो तिर्ने व्यवस्था मिलाउन लगाएका थियौँ,” अध्यक्ष राईले भने, “अरुको हकमा काम बमोजिम भुक्तानी दिन भनेका थियौं । उहाँ किन कहाँ जाने, किन जाने भन्ने जानकारी नदिइ हिँड्नु भो, बुझ्न सकेको छैन ।”
रेग्मीले जिल्ला प्रशासन कार्यालयलाई समेत कार्यालय छाड्नुपर्ने समस्याका बारेमा जानकारी दिएका छैनन् । उनी केही समयअघि मात्र प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेका थिए । फोन सम्पर्क गर्दा रेग्मीले ‘प्रेसरमा काम गर्न लगाएकाले हिँडेको’ जवाफ दिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए । “सोमबार फोन सम्पर्क गर्दा इमरजेन्सी काम परेर गएँ भन्यो, अरु केही भनेन,” शाहले भने, “पुःन आज फोन गर्दा चैं प्रमाण नभएको बिल आयो, एउटा उपभोक्ता समितिको हिसावकिताव चित्तबुझ्दो थिएन, कसरी हिसावकिताव मिलाउने भनेर हिँडेको भन्यो ।” प्रमुख प्रशासकीय अधिकृतले अचानक कार्यालय छाडेर हिँडेको सन्दर्भमा गाउँपालिकाले विज्ञाप्ती जारी गर्दै सामाजिक सञ्जालमा विना प्रमाण कुनै पनि प्रकारका दुष्प्रचार नगर्न/नगराउन आग्रह गरेको छ ।