बिहिवार, कार्तिक २० २०८३
नेपाल वाइड
खोटाङ, १९ कातिक । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शैयाको नयाँ भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको करिब २२ करोड ९० लाख लागतमा बनेको चारतले भवनको प्रमाणपत्र बिहीबार आयोजनाका प्रमुख इन्जिनियर सुरज पौडेलले अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गरेका छन् ।
वि.सं. २०७८ असारमा ३० महिनाभित्र सक्ने गरी निर्माण सुरु गरिएको भवन मुख्य निर्माण कम्पनीले समयमा सम्पन्न नगरेपछि अलपत्र परेको थियो ।
कारबाहीको प्रक्रिया सुरु भएपछि जिल्लाकै निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिई काम सम्पन्न गरेका हुन् । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार आवश्यक सामग्री जडान गरेर तिहारपछि ५० शय्याको सेवा सुरु गर्ने तयारी छ ।
“सेवा सञ्चालन भएपछि उपचारका लागि कोही पनि अन्यत्र जानुपर्दैन,” उनले भने । नयाँ भवनको पहिलो तलामा ओपीडी, इमरजेन्सी, शल्यक्रिया, एक्स–रे र फार्मेसी छन् । दोस्रो तलामा प्रसूति सेवा, तेस्रो तलामा आईसीयू र आइसोलेसन कक्ष तथा चौथो तलामा प्रशासन, लेखा र सेमिनार हल रहेका छन् ।
२०४९ सालमा १५ शैयामा स्थापना भएको जिल्ला अस्पताललाई २०८२ असारमा भवन अधुरै हुँदा ५० शैया स्तरोन्नति गरिएको थियो, जसको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।