शुक्रवार, जेठ ९ २०७७
नेपाल वाइड
विराटनगर । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको हो । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड-१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।
स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरण समेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गिकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कूल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।
कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोसिस कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ । यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ ।