सोमवार, भाद्र २२ २०८३
नेपाल वाइड
खोटाङ, २२ भदौ । खोटाङ दिक्तेलबजार स्थित पुरानो बेकक्याम छेउमा आइतबार साँझ फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ (बम) निष्क्रिय पारिएको छ । बेवारिसे अवस्थामा स्थानीयले भेटेको उक्त बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोजल टोलीले सोमबार बिहान साढे दश बजे निष्क्रिय पारेको हो ।
बेसक्याम्पस्थित तारा सुन्दासको बारीमा सुगुरको खोर बनाउन जमिन खन्ने क्रममा स्थानीयले आइतबार साँझ उक्त बम फेला पारेका थिए । बेवारिसे अवस्थामा भेटिएको बमलाई नेपाल प्रहरीले सोही स्थानमा रातभर सुरक्षित राखेको र सोमबार बिहान मात्र निष्क्रिय गरिएको गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिए ।

दिक्तेल बजारको मध्यभागमा पर्ने बेसक्याम्पमा नेपालको दश वर्षे सशस्त्र द्वन्द्वकालमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षाका लागि फौजले बेसक्याम्पमा विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले गरेकी छन् । तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वका बेला बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो ।
सुरक्षा फौज अन्यत्र सारिएपछि बेसक्याम्प वरपर यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ भेटिने गरेको थियो । व्यक्तिको जग्गामा रहेको बेसक्याम्प खाली भएपछि स्थानीयले खेतीपातीको काम गर्दा बेला–बेला बम फेला पार्ने गरेका छन् । बेसक्याम्पमा अलपत्र छाडिएका विस्फोटक पदार्थ बारम्बार भेटिँदा आफूहरूको जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।