सोमवार, जेठ १२ २०७७
नेपाल वाइड
नेपाल राष्ट्र बैङ्कले राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनबजारमा नपठाउने राष्ट्र बैङ्कले तयारी गरेको छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको फोटो भएको नोट पुनः सर्वसाधारणमा नदिन निर्देश गरेको छ । सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो । नोटको प्याकेटमा अब बैङ्कको नाम, बैङ्कका कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य राख्न पनि राष्ट्र बैङ्कले भनेको छ । झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित नोट निष्काशनलाई अयोग्य नोटको रुपमा वर्र्गीकरण गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।