बिहिवार, जेठ १५ २०७७
नेपाल वाइड
अर्थमन्त्रीले युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजित गरिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो।आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । खतिवडाका अनुसार आगामी आर्थिक वर्षको अनुमानित खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड बेहोरिनेछ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने छ। आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने सरकारको विश्वास छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको उनले बताए। त्यसैगरी कोरोनाभाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त रकम कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारका लागि छुट्याएको बताइएको छ । स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा सरकारले उक्त क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकाबाहेक अन्य कर्मचारीलाई दिइँदै आएको सबै भत्ता खारेज गरिएको छ ।