बिहिवार, जेठ १५ २०७७
नेपाल वाइड
सुनसरी धरानका एक कृषि इञ्जिनियरले घर तथा भीडभाड हुने अस्पताल, सरकारी कार्यालयमा उपयोगी हुने अल्ट्रा भाइलट(युभी) डिस्इन्फेक्ट बक्स तयार गरेका छन् । कृषि इञ्जिनियर प्रशन्न श्रेष्ठले मानिसले प्रयोग गर्ने तथा हातले छोइरहने सामानहरुलाई डिस्इन्फेक्ट गर्न उपयोगी हुने बक्स तयार गरेका हुन् । यो बक्सले मानिसहरुले दिनहुँ प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्स, क्याल्कुलेटरलगायत सामानमा भएको किटाणु मार्ने श्रेष्ठ बताउनुभयाे । श्रेष्ठले प्लाइउड प्रयोग गरेर फ्रिज आकारको युभी बक्स तयार गरेका छन् । बक्सभित्र पनि फ्रिजमा सामान राख्ने जस्तै च्याम्बर(कोठा) तयार गरेका छन् । यो बक्स तयार गर्नको लागि आवश्यक पर्ने महत्वपूर्ण चिज युभी ट्युब हो । जसको प्रकाश(लाइट)मा रेडिएसन हुन्छ, र त्यसले किटाणु मार्छ। ल्याब(प्रयोगशाला)मा प्रयोग हुने यो ट्युब डिस्इन्फेक्ट बक्स तयार गर्नका लागि अतिआवश्यक भएको श्रेष्ठले बताए । यो विदेशबाट मात्र आयात हुन्छ। अहिले भने नेपालमै बनाउन सकिन्छ कि भनेर रिसर्च पनि भइरहेको उनले बताए । बक्सभित्र सामान राख्नुअघि स्विच अफ गर्ने, सामान राख्ने र कम्तीमा ३० सेकेण्ड अन गरेपछि स्विच अफ गरेर सामान झिक्दा सुरक्षित हुन्छ। अझै सुरक्षित हुनको लागि मास्क, कालो चस्मा चलाउने पनि लगाउनुपर्छ। पिपिई लगाउँदा अझ राम्रो हो, तर नभए पनि बक्स आफैंमा सुरक्षित बनाइएको छ।’ उनले यो बक्स अस्पताल, बैंक तथा वित्तीय कारोबार हुने कार्यालय, नगर तथा गाउँपालिका, वडा कार्यालयलगायत अन्य सरकारी कार्यालयमा अति उपयोगी हुने बताए। ती ठाउँमा मानिस आवतजावत भइरहने भएकोले कार्यालय प्रवेश गर्नुअघि नै उनीहरुको साथमा भएको पैसा, पर्स, घडी, मोवाइल, चस्मालगायत सामान यो बक्सबाट डिस्इन्फेक्ट गरेर मात्र प्रवेश दिँदा सुरक्षित हुन्छ। यस्तै, बैंकमा नगद कारोबार हुँदा यस्तो बक्समा एकैपटक हालेर डिस्इन्फेक्ट गर्न सकिने श्रेष्ठले बताए। अस्पतालमा बिरामी तथा कुरुवाको सामानलाई पनि डिस्इन्फेक्ट गर्ने र बाहिरिँदा पनि त्यही विधि अपनाए सुरक्षित हुने उनको भनाइ छ । यसबाहेक उनले ठूलो परिणाममा तरकारीलाई एकैपटक डिस्इन्फेक्ट गर्ने प्रविधिको पनि नमुना डिजाइन गरेका छन्। यो अलिक खर्चालु भएकोले उनले डिजाइन मात्र गरेको बताए। सरकार वा स्थानीय तह, सम्बन्धित निकायबाट सहयोग भए नमुना डिजाइनलाई मूर्तरूप दिने उनको योजना रहेकाे नागिरक अनलाइनले समाचार लेखेकाे छ ।