सोमवार, जेठ १९ २०७७
नेपाल वाइड
खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा आरडिटि टेष्ट गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएपछि गत बैसाख २९ गते हल्लीखल्ली मच्चियो । गाउँपालिका आफैले दुई सय थान किट खरिद गरेर ल्याएपछि आरडिटि टेष्ट गर्नेक्रममा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । किटको रिजल्टको विश्वसनीयतामाथि आशंका गरियो र जिल्ला अस्पतालबाट लगिएका किट प्रयोग गरेर दोश्रो टेष्ट गर्दा भने दुबै जनाको रिपोर्ट नेगेटिभ देखायो । पुःन तत्काल गाउँपालिकाले नै खरिद गरेर ल्याएकामध्येको किट प्रयोग गरेर तेश्रो पटक टेष्ट गर्दा पोजिटिभ नै देखियो । गाउँपालिकाको किटमार्फत गरिएको दुई–दुई पल्टको टेष्टले पोजिटिभ र जिल्ला अस्पतालबाट लगिएको किटले नेगेटिभ रिपोर्ट देखाएपछि रतन्छामा अन्योल नै सिर्जना भएको थियो । प्रादेसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा स्वाव पठाएर पिसिआर टेष्ट गर्दा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यही भएर आरडिटिको बिश्वसनीयतामाथि शंका गर्नुपर्ने देखिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । ‘आरडिटि किट भरपर्दोचैं होईन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कोरोनाको संक्रमण भए÷नभएको यकिन गर्ने अन्य विकल्प नभएकाले यसको प्रयोग गर्नु वाध्यता हो । अवका दिनमा पिसिआरलाई प्राथमिकता दिने तयारी गरेका छौँ ।’
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका ५८ जनाको आरडिटि गर्दा ८२ जनाको पिसिआर गरिएको छ । आरडिटिको रिजल्ट भरपर्दो नहुने भएकाले पिसिआरलाई प्राथमिकतामा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । पिसिआर गरिएकामध्ये हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई संक्रमण भएको पूष्टी भएको छ । उनको जेठ ६ गतेदेखि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ ।
हालसम्म खोटाङका १० स्थानीय तहमा ५२० जनाको आरडिटि र १०५ जनाको पिसिआर परिक्षण भइसकेको छ । त्यसमध्ये दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ र एक जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । हाल आरडिटिको बिश्वसनीयतामाथि भने जताततै प्रश्न उठिरहेको छ । आरडिटिले दिने परिणामका बारेमा शंका गर्ने गरिए पनि रहेक स्थानीय तहमा आरडिटि परिक्षण जारी छ । साकेला गाउँपालिका सँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि आफ्नै खर्चमा १५० थान आरडिटि किट खरिद गरेको छ । आरडिटि किट औसतमा प्रतिवटा दुई हजारका दरले खरिद गरेर ल्याउने गरिएको स्थानीय तहले बताएका छन् । तर, आरडिटि टेष्टबाट स्थानीयलाई तत्कालका लागि आत्मसन्तुष्टी दिने बाहेकका उपलव्धी भएको देखिन्न । आरडिटिले उपलव्धीभन्दा बढि खर्च र जनशक्तीलाई हैरानी मात्र गराइरहेको छ । हाललाई आरडिटि गरे पनि संक्रमण भए÷नभएको यकिन गर्न पिसिआरमै भरपर्नुपर्ने अवस्था छ । कोरोना परिक्षणमा पिसिआर नै भरपर्दो भनिए पनि स्थानीय तहले यसको दायरा फराकिलो बनाउन सकेका छैनन् । सबै ठाउँमा पिसिआरको पहुँच सहज बनाउने हो भने भीडमा लुकेर रहेका संक्रमित चाँडो फेला पर्ने कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना बनाउन पनि सहज हुने बताइन्छ ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११३ जना, हलेसी तुवाचुङ नगरपालिकाका ५८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १८१ जना, साकेला गाउँपालिका ११८ जना, खोटेहाङ गाउँपालिकाका ६२ जना, जन्तेढुंगा गाउँपालिकाका ५८ जना, रावाबेँसी गाउँपालिकाका २६ जना, बराहपोखरी गाउँपालिकाका २६ जना, ऐसेलुखर्क गाउँपालिकाका १० जना र केपीलासगढी गाउँपालिकाका ५ जनाको आरडिटि गरिसकिएको छ । ‘सबै परिक्षणले सतप्रतिशत रिजल्ट दिँदैन, यसको भरै हुन्न भन्न सकिन्न,’ डा. श्रेष्ठले भने, ‘कहिलेकहीँ फल्स नेगेटिभ र फल्स पोजिटिभ देखिने चान्स हुनसक्छ ।’
जिल्लामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयबाट चार चरणमा ५५० थान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट ५ सय थान आरडिटि किट आइसकेको छ । यस्तै, बिभागबाट पिसिआरका लागि स्वाव संकलन गर्नेक्रममा उपयोग गरिने ५ सय थान भिटिएम र सामाजिक बिकास मन्त्रालयबाट तीन चरणमा १२५ थान भिटिएम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । पिसिआरका लागि स्वाव संकलन गर्ने दक्ष जनशक्ती एक जना मात्र छन् ।