सोमवार, जेठ १९ २०७७
नेपाल वाइड
अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादि वितरण गरेका छन् । खेत र बारीमा लगाइएको मकै फौजी किराले सखाप पार्न थालेपछि युवा उद्यमी समेत रहेका राईले बयक्ताका ४५ घर किसानलाई किटनाशक विषादि निःशुल्क वितरण गरेका हुन् । फौजी किरा नियन्त्रणका लागि आवश्यक विषादि किन्न सक्ने आर्थिक अवस्था नभएका किसानलाई ध्यानमा राखेर विषादि खरिद गरेर ल्याएर वितरण गरेको राईले बताउनुभयो । उनले किसानलाई ११ हजार बराबरको नोभा सुपरस्टार र आवस नामको किटनाशक विषादि वितरण गरेका हुन् । नगरपालिकाले उपलव्ध गराएको विषादि सशुल्क खरिद गर्नुपर्ने भएपछि कतिपय किसानले विषादि खरिद गर्न नसकेको पाइएकाले आफैले विषादि वितरण गरेको राईले बताए । ‘फौजी किरा नियन्त्रणका लागि नगरपालिकाले पनि विषादि वितरण गरिरहेको छ तर, शुल्क तिर्नुपर्ने भएकाले सबैले त्यो विषादि प्रयोग गर्न सक्ने अवस्था छैन,’ कांग्रेस क्षेत्र नम्बर १ का सदस्य रहेका राईले भने, ‘फौजी किरा नियन्त्रणमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान पुग्नुपर्छ । यसमा हाम्रो पनि दायित्व छ । त्यही दायित्व स्वरुप किटनाशक विषादि वितरण गरेको हुँ ।’ बजारमा किटनाशक विषादिको अभाव भएकाले ४५ घर किसानलाई मात्र वितरण गरिएको बताए । उनले दुई चरणमा विषादि वितरण गरेका हुन् । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश बेँसी क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको छ । प्रमुख बालीकारुपमा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाउँदा उत्पादन घट्ने र भोकमरी लाग्नेमा किसान चिन्तत छन् । गत वर्ष पनि नगरपालिकामा लामो खडेरी र फौजी किराका कारण मकैको उत्पादन शुन्य भएको थियो ।