आइतवार, जेठ २५ २०७७
नेपाल वाइड
बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । भूतपूर्व बेलायती सैनिकका सन्तानले युकेको आवासीय अधिकार प्राप्त गर्ने सम्बन्धी मुद्धाा जितेका हुन । अब १८ वर्ष नाघेका छोराछोरीहरु समेत युकेको लागि आवेदन दिन पाउनेछन । रोयल कोर्ट अफ जस्टिसले १८ वर्ष नाघेका छोराछोरीहरुको भिसा आवेदन लिने फैसाला गरेसँगै आवासिय अधिकार प्राप्त गरेको हो । रोयल कोर्ट अफ जस्टिसका जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले सो फैसला सुनाएका हुन् । यस अघि १८ वर्षमुनीका छोराछोरीले मात्र बेलायतको आवासीय अधिकार पाउने प्रावधान रहेको थियो । भूतपूर्व गोरखा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले आवासीय अधिकार प्राप्तीका लागि मुद्दा दायर गरेका थिए । गेसो आन्दोलनपछि भूतपूर्व गोर्खाहरुलाई आवासीय अधिकार दिए पनि उनीहरुको सन्तानको हकमा भने उमेरको सिमा तोकिएको थियो । सुरुमा १८ बर्षभन्दा माथिका गोर्खाका सन्तानहरुलाई बेलायतको आवासीय अधिकार दिइएको थिएन भने पछिल्लो फैसलामा ३० बर्षसम्मकालाई मात्र जान दिने भनिएको थियो । अदालतको पछिल्लो फैसलाले भने उमेरको सिमा हटाएको बताइएको छ । अब समय सिमा नभई पारिवारिक अवस्था र सम्बन्धलाई मध्यनजर गरिने भएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति कृष्णकुमार राईले अदालतबाट प्रतिक्रिया दिंदै वकिलहरुले गोरखाहरूको जित भएको जानकारी दिनुभयो । अदालतको फैसलाले आफूहरु उत्साही र खुसी भएको सभापति राईले बताउनुभयो । ‘उमेरको सीमा र चर्को शुल्कको कारणले आज पनि हजारौं गोर्खा सैनिकका सन्तानहरु बेलायतको आवासीय अधिकारबाट वञ्चित छन् । गोर्खाहरुमाथि ऐतिहासिक अन्याय भएको भन्दै गोर्खाहरुको अधिकारको लागि लडिरहेको ‘हो एण्ड को’ ल र्फमले मुद्दा लडेको थियो ।