मंगलवार, जेठ २७ २०७७
नेपाल वाइड
न्युजिल्यान्डवासीले सधैँ आफूलाई व्यवहारिक मानिसका रुपमा हेर्ने गरेका छन् र उचित जीवन शीप अनि ‘हामी गर्न सक्छौँ ’ भन्ने मानसिकता राखेर उनीहरुले जस्तो सुकै परिस्थिति आइपरे पनि एकआपसमा सहकार्य गर्दै आएका छन् । नागरिकहरुको यही प्रवृत्तिले नै न्युजिल्यान्डलाई लामो समयदेखि एक अत्यन्तै प्रगतिशील देशका रुपमा स्थापित गराएको छ ।
त्यसैगरी यसमा न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको मानिन्छ । कोभिड–१९ ले विश्व आक्रान्त भइरहेका बेला उनको सहि निर्णयले नै आज न्युजिल्यान्डलाई शून्य कोरोना संक्रमितको सफलतासम्म पुर्याएको छ । यस्तोमा सोमबार मात्र न्युजिल्यान्डले पूर्ण रुपमा लकडाउन खोल्ने घोषणा गरेको हो । वास्तवमा एडर्नले संक्रमितको सङ्ख्या कम हुँदैखेरि देशव्यापी रुपमा कडा लकडाउन गराएकी थिइन् जसबेला धेरैले उनको कदमलाई बहादुरीपूर्ण ठहर गरेका थिए किनकी प्रायः युरोपेली मुलुकहरुले भाइरस अनियन्त्रित अवस्थामा पुगिसकेपछि मात्र गम्भीर कदम उठाएका थिए । उनको नीति नै ‘चाँडै र कडा कदम उठाउनु” रहेको थियो । यस्तोमा अहिले एडर्नलाई फेरिपनि विश्वले सम्मानपूर्वक हेरिरहेको छ ।
विगत तीन वर्षमा ३९ वर्षीया एर्डन साधारण राजनीतिज्ञबाट विश्वकी सर्वाधिक प्रभावशाली व्यक्तित्व बन्न पुगेकी हुन् । २०१९ मा क्रिसचर्चको मस्जिदमा भएको आतङ्की हमलामा उनको सहानुभूतिपूर्ण राजनीतिक पहलले पनि उनलाई अरु राष्ट्र प्रमुखबाट छुट्याएको हो । शोकाकुल परिवारप्रति सहानुभूति जनाउन उनी हिजाब लगाएर सबैलाई अंकमाल गर्न आफैँ पुगेको दृश्य त्यतिबेला विश्वचर्चित बनेको थियो । त्यस्तै गत डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुँदा त्यहीँ उपस्थित उनका प्रेमी क्लार्क गेफोर्ड चार महिने छोरी खेलाएर बसेको घटनाले पनि विश्वको ध्यानाकर्षण गराएको हो । यसरी उनले राजनीतिक भूमिका निभाइरहँदा छोरीप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्दै सबै सामान्य रुपमा लिएकी हुन् । संयुक्त राष्ट्र संघको सभामा त्यस्तो कहिल्यै देख्न पाइएको थिएन ।
यसरी राजनीतिमा उनको सद्भावपूर्ण दृष्किटकोण अन्र्तगत सफलतालाई देशको कूल घरेलु उत्पादनमा मापन नगरेर जनताको जीवन स्तरमा सुधार ल्याउनु नै वास्तविक सफलता भएको विश्वास व्यक्त गर्दै आएकी छन् । यसका कारण पनि सबैले न्युजिल्यान्डलाई प्रगतिशील सरकारको नमुनाका रुपमा हेर्ने गरेका छन् ।
४८ लाख जनसङ्ख्या रहेको यस देशमा राजनीतिक मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठुल्ठुला प्रगति देखिसकिएको छ । जस्तै १८९३ मै महिलाहरुलाई मत हाल्न दिनु, १८४० देखि दैनिक आठ घण्टा मात्र काम गर्ने नीतिको वकालत गर्नु , १८९८ बाटै राष्ट्रले वृद्धभत्ता प्रदान गर्नु, १९३८ मा पेन्सन र कल्याण कोष सम्बन्धी विश्वकै सबैभन्दा ठूलो प्रणाली स्थपित गर्नु र केही समय अगाडिदेखि सबै स्कुलहरुमा महिनावारीका उत्पादन निशुल्क वितरण गराउनु केही ऐतिहासिक उदाहरा हुन् ।
यसरी १८९० देखि १९२० का बीच न्युजिल्यान्डलाई अवलोकन गर्ने सबै विदेशीहरुले यसको प्रगतिशील नीतिहरुकै कारण यो देशलाई सामाजिक प्रयोगशाला समेत भन्ने गरेका थिए । जसलाई एडर्नको सरकारले अझ बढी आत्मसात् गरेको छ । उनी राष्ट्रिय प्रगतिलाई जनताको कल्याणले मापन गर्न समर्पित छिन् जस्तै आय दरमा वृद्धि ल्याएर, वातावरणमा सुधार ल्याएर अनि सामाजिक भलाइमा केन्द्रित रहेर ।
न्युजिल्यान्डमा बस्न गएका पूर्व ब्रिटिश नागरिक र राजनीतिज्ञहरु पनि त्यहाँको समानता, निश्पक्षता र इमान्दारीताले आकर्षित भएको बताउने गर्दछन् । न्युजिल्यान्ड ठूलो र शक्तिशाली मुलुक नभएपनि यसको प्रेरणादायक छवि नै आकर्षणको केन्द्र रहेको बताइएको छ । शताब्दीऔँ अगाडिदेखि नै न्युजिल्यान्डमा स्वतन्त्रतालाई समानताका रुपमा हेरिन्थ्यो । विश्वको सबैभन्दा खुसी देशमा पनि न्युजिल्यान्ड सात वर्ष लगातार आठौँ स्थानमा रहँदै आएको छ जुन युरोप बाहिरको शिर्ष १० मा पर्ने एकमात्र मुलुक हो । यता विविध प्रकृतिले पनि न्युजिल्यान्डको आकर्षण अझ बढाइदिएको छ ।
यसअघि कोरोना भाइरसका कारण आर्थिक रुपमा प्रभावितहरुका लागि भनेर न्युजिल्यान्डमा प्रधानमन्त्री एडर्न सहित सबै मन्त्रीले ६ महिनासम्म २० प्रतिशत पारिश्रमिकमा कटौति गर्ने निर्णय सुनाएका थिए । भाइरस फैलिरहेका बेला यसको गम्भीरताबारे अन्य देशहरु शंकामा रहेपनि प्रगतिशील न्युजिल्यान्डले भने विज्ञानमा पूर्ण भरोसा राखेर लिएको निर्णयले नै आज यसलाई विश्व महामारी विरुद्ध पहिलो जित दिलाएको छ । बीबीसी अनलाइन ।