मंगलवार, जेठ २७ २०७७
नेपाल वाइड
पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । हालसम्म कोरोना भाइरसको आशंकामा १ लाख ६ हजार ३३१ वटा नमुना संकलन गरेर पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा निको हुनेको सङ्ख्या ५८४ छ भने कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।