बुधवार, जेठ २८ २०७७
नेपाल वाइड
नापी कार्यालयका भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले सार्वजनिक पदको दुरुपयोग गरि करोडौ अवैध सम्पक्ति आर्जन गरेको पाईएको छ । सर्वेक्षक काफ्लेले पदिय दुरुपयोग गरि ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँभन्दा बढी गैह्रकानूनी सम्पत्ति आर्जन गरेको पाईएको हो । काप्लेलाई गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले जेठ २७ मा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०५४ पुस १ गते अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका काफ्लेले २०७६ बैशाखसम्ममा भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको भेटिएको हो ।
अख्तियारको अनुसन्धानका क्रममा काफ्लेले २२ बर्षको अवधीमा गैह्रकानूनी सम्पत्ति आर्जन गरि भक्तपुर र काभ्रेपलान्चोक जिल्लामा आफु र श्रीमती सुशिला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको भटिएको छ । जग्गा खरिदका क्रममा उनले रजिष्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाइ जग्गाधनीहरुलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको जग्गाधनीको बयान, भुक्तानी भएका चेक तथा बैंक स्टेटमेन्टबाट पुष्टि भएको अख्तियारले जनाएको छ । अनुसन्धानमा २२ बर्षको अवधीमा काफ्लेको वैध आय १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ देखिएको छ भने सोही अवधीमा उनले गरेको व्यय ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ देखिएको छ। उक्त अवधीमा काफ्लेको आयबाट उनले गरेको खर्च घटाउँदा हुन आउने ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ भ्रष्टाचारजन्य कामबाट आर्जिक अकुत सम्पत्ति भएको अख्तियारको ठहर छ । काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरि अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथा प्रमाणबाट पुष्टी हुन आएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम सजायँको माग गरिएको छ । साथै उक्ता ऐनको दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम गै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगोबाट खरिद गरि काफ्ले र उनकी श्रीमती सुशीला काफ्लेको नाममा राखेको श्रोत नखुलेको चलअचल सम्पत्ति तथा सोबाट बढेबढाएको सम्पत्ति, हुन आउने व्याज समेत उनीहरुको नाममा रहेको जग्गा जमिन र बैंक मौज्दातबाट असुल्न अख्तियारले अदालतमा माग गरेको छ ।
अख्तियारले ऐन बमोजिम सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती सुशिलालाई समेत प्रतिवादी कायम गरि अदालतमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले यस अघि गत मंगलबार भ्रष्टाचार गरि १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकाल विरुद्ध मुदा दायर गरेको थियो । दुई साता अघि गाविस सचिवबाट सेवा प्रवेश गरि शाखा अधिकृतबाट अवकाश ऋषिराम अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ बराबरको अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्धा दायर गरेको थियो। जेठ महिना भित्रै अख्तियारले भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र राजश्व हिनामिनामा तीन दर्जन भन्दा बढी कर्मचारीविरुद्ध मुदा दायर गरिसकेको छ ।