बिहिवार, जेठ २९ २०७७
नेपाल वाइड
सरकारले कोरोनाभाइरस संक्रमण तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी राखेको लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको हो । बुधवार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको हो ।
शुरूमा कृषि, स्वास्थ्यसँग सम्बन्धित सेवा र ब्याङ्क तथा वित्तीय सहितका केही सेवा खुला गरिने बताइएको छ ।
किनमेल केन्द्र, सिनेमाघर, शैक्षिक संस्था तथा धार्मिक र सामाजिक स्थल लगायतको हकमा हाललाई लकडाउन कायम राखिने विवरणहरूमा जनाइएको छ ।
यद्यपि लकडाउनको परिवर्तित स्वरूपबारे विस्तृत विवरण चाहिँ बिहीवार मात्रै सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । वहाँका अनुसार कृषि तथा स्वास्थ्य लगायत कतिपय सेवा तथा कार्यलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ । मन्त्री पोखरेलले भने“कृषि, उद्योग र व्यापार क्षेत्रलाई अहिले खुकुलो पार्ने निर्णय भएको छ। कतिपय तुरुन्तै र कतिपय अलि पछि लागु गर्ने कुरा छन्,“
यस्तै मन्त्रिपरिषद्को बैठकले मुलुकभित्र संक्रमणको जोखिम बढेपछि अन्तिम समयमा स्थगित गरेको एसइई परीक्षा यस वर्ष नलिने निर्णय गरेको हो । शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको छ । विद्यालयहरूको आन्तरिक मुल्यांकन र सेन्टवलाई आधार गरेर विद्यार्थीको मुल्यांकनको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने सोही आधारमा बोडले ग्रेडिङ गर्ने निर्णय गरेको छ ।
नीजी सवारी साधानलाई जोर विजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले कुन दिन जोर कुन दिन बिजोर गर्ने कार्यविधि बनाउने अधिकार गृहमन्त्रालयलाई दिएको छ । तर निजी सवारीमा चालकसहित दुई जना मात्र बस्न पाइनेछ भने दुई पाङ्ग्रे सवारीमा एक जना मात्र हिंड्न अनुमति दिने निर्णय गरेको छ ।
काठमाडौंको आवतवतलाई अझ कडा गर्ने रणनीति बनाएको सरकारले उपत्यका बाहिर भने प्रदेश सरकारले स्थानीय जिल्ला प्रशासनसँगको छलफलमा आवश्यक निर्णय लिनेछ । संक्रमण बढि देखिएका जिल्ला र स्थानीय तहलाई सिल गर्नेसम्मको निर्णय गरेको छ । लामो दूरीको सवारी साधान सञ्चालन अझै केही समय नगर्ने निर्णय लिंदै मन्त्रिपरिषद् बैठकले स्कुल, क्याम्पस, सिनेमा घरहरू तत्काल नखोल्ने निर्णय गरेको छ ।
त्यसैगरी सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । गृहमन्त्रालयको प्रस्तावमा भएको सरुवाअनुसार कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्य विभागमा सरुवा भएको हो ।
यी क्षेत्रहरु खुल्नेछन्
१. स्वास्थ्य सेवा सबै
२. औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोर मैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा
६. बैक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बिउबिजन, रासायनिक मल, कषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसमबन्धी उद्योग व्यवसाय
११. विकास आयोजना
१२. नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रिवितरण
१३. निर्माण कार्य
१४. रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. विजुली सामान विक्री र मर्मत
१७. विद्युतय उपकरण, मेशीन र सवारी साधानको मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेशनरी
१९. सबैप्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका सबै कार्यालय
२१.अन्य सरकारी कार्यालय गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैठक तथा वित्तीय संस्थानहरु (सामान्यतया ५० प्रतिशत कर्मचारी रहनेगरी )