शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
नेपालसँगको सीमा विवाद तत्काल वार्तामार्फत समाधान गर्नुपर्ने भारतीय राष्ट्रिय कांग्रेसले भारत सरकारसँग माग गरेको छ । भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल र भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
भारत र नेपालबीचको सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दुखद भएको नेता अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने जनाइएको छ । ८ मार्चमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घघाटन गरेसँगै दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाली पक्षसँग सल्लाह नगरी एकतर्फी रुपमा भारतले सडक बनाएपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत् त्यसको विरोध गरेको थियो ।
नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । यस नक्सालाई निशान छापमा राख्नका लागि संविधान संशोधनको प्रक्रिया चलिरहेको छ । संविधानमा संशोधनमा सम्पूर्ण राजनीतिक दलले सहमति जनाएका छन् ।