शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
रसुवागढी नाका खुलाउन व्यवसायीहरुले पहल थालेका छन् । करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन पहल थालेका हुन । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । माघको १५ गतेदेखि नाका बन्द भएको थियो ।
सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासका कारण नाका नखोल्ने अडान लिएको भएपनि अहिले टिमरेबासी नाका खोल्न सकरात्मक देखिएको छ । पछिल्लो समय व्यवसायी तथा व्यवसायीहरूको संघसंगठनले विभिन्न निकायमा निवेदन दिने, समन्वय गर्ने तथा नाकाको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष संजिव अमात्यले नाकामा व्यापार व्यवसाय गर्नेहरूलाई समस्या थपिँदै गएकाले तत्काल नाका खोल्नुपर्ने बताउनुभयो । नाका नखुलेको भन्दै रसुवा चेम्बर्स अर्फ कमर्समा दैनिक गुनासो बढन थालेको छ । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ ।
त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न गएको माघ १५ गतेदेखि नाका पूर्ण रूपमा बन्द गरिएको छ ।
चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।