शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
दिक्तेलबाट पैदल दुई घण्टा उकालो र हलेसी–दिक्तेल सडक खण्डको मुढेबाट एक घण्टा उकालो गरी करिव ३ घण्टा हिडेपछि पुगिने रुपाकोट आफ्नै स्वाभिमानमा अडिक रहेको देखिन्छ । सदरमुकाम दिक्तेललाई नियाली रहने रुपाकोटडाँडा एक पर्यटकीयस्थलमा मात्र परिचित हैन, वरीपरि सुन्दर फुलहरुले पनि बास्ना दिईरहेको हुन्छ ।
रुपाकोटमा गुराँस, धुपी सल्ला, गोब्रे सल्ला, ढ्याङग्रे सल्ला, पात्लेलगायतका हरिया र सदाबहार बनस्पतीले बाहै्र मास ढाकिएको हुन्छ । यहाँ पाखनबेद, चिराईतो, पदमचाल, पाँच औंले, मजेतो, चिमलजस्ता बहुमूल्य र दुर्लभ जडीबुटी, अल्लो र नेपाली कागज बनाउन प्रयोग हुने कागती बनस्पती पाईन्छ ।
बसन्त क्रृतुमा रुपाकोट लालीगुँरास लगायतका फुलहरुले झकिझकाउ देखिन्छ । रुपाकोटाडाँडा पुगेपछि सिद्धथान, देबिस्थान, गढीडाँडा, लामो आहाल, डल्ले ढुङगा, गजुरे भीर, ठूलोचौर, गुन्टेडाँडा, चुलीडाँडा हेर्न लायक ठाउँहरु हुन् । रुपाकोटको एकै थाप्लामा रहेका यिनै ऐतिहासिक थलोहरु नै यहाँका बिशेष आकर्षणहरु हुन् । हरेक दिन सयौं मान्छेहरु रुपाकोटको प्राकृतिक सुन्दरतामा रमाई रहेको प्रसस्त मात्रमा भेटिन्छन् ।
दिक्तेलबाटै देखिने रुपाकोटमा फागुन–चैत्रमा फुलेको राताम्मे लालीगुँरास देख्दा रुपाकोट जाँउ जाँउ भन्ने मानिसहरु प्रसस्त भेटिन्छन् । रुपाकोटबाट मौसम सफा भएको बेलामा उत्तरतर्फको हिम श्रृङखला, छिमेकी जिल्ला सोलुखुम्बुका हिमश्रृङखलासँगै सगरमाथाको पनि अवलोकन गर्न सकिन्छ । ओखलढुङगा, उदयपुर, भोजपुरलगायत पूर्वी धरान, ईटहरी, बिराटनगर र तराईका केही भूभाग अवलोकन गर्न सकिन्छ । त्यतिमात्र हैन, रुपाकोटमा अग्लोडाँडा र सदाबहार जंगलभित्र बाघ, निङगालो, मृग, थार, घोरल, खरायो, बादर, राजपंखी, डाँफे, मुनाल, कोईली, कालिजजस्ता पशुपन्छीको बासस्थान रहेको छ । यीनै चराचुरुङगीको आवजले पनि रुपाकोट गुञ्जयमान भईरहेको हुन्छ ।
परापूर्वक कालमा रुपा नामकी किशोरीको नामबाट नामाकरण भएको किंवदन्ती रहेको रुपाकोटमा तामाको खानी समेत रहेको स्थानीयवासीको भनाई छ । त्यहाँबाट निकालिएको तामाबाट बनेका माना, पाथी अझै गाउँ घरमा प्रयोग भइरहेको उनीहरुको दावी छ ।
खोटाङको धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित रुपाकोटमा अवस्थित सिद्धबाबाको थानमा बिभिन्न पर्व बिशेष र अन्य समयमा दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । चिताएको पुरा गरिदिने र सुख शान्ती दिने बिश्वासमा दर्शननार्थीहरु सिद्धबाबाको दर्शन गर्न जाने गरेका छन् । मनोकांक्षा पूरा गरिदिने बिश्वासमा सिद्धबाबाको भाकल गर्नेहरुको संख्या पनि कम छैन । स्थानीय समुदायमा सिद्धबाबाले प्राकृतिक बिपत्ती र दैबी बिपत्तीका समयमा उद्धार गर्छन् भन्ने विश्वास गरिन्छ । स्थानीय समुदायमा लामो समयसम्म पानी नपरे, पानी माग्दै सिद्धबाबाको पुजा पाठ गर्ने चलन हिजो आज पनि यथावत छ । सिद्धबाबाका स्थानमा हरेक वर्षको बैसाख पूर्णिमाका दिन बौद्धमार्गीहरुले ध्वजा पताका टाँग्दै पाठ–पुजा गर्छन् ।
यस्तै, रुपाकोटको गढीडाँडामा बैसाख पूर्णिमा र मंसिर पूर्णिमाको वेला राई समुदायले धुमधाका साथ साकेला नाच्ने चलन छ । रुपाकोटको उत्तरतर्फ रहेको गढीडाँडाबाट किरात राजाले राज्य चलाएका थिए । उतीखेर बनाइएको गढीको चर (जग) अहिले पनि देख्न सकिन्छ ।
बिभिन्न पर्व, अवसरबाहेक हिजो आज दैनिकजसो रुपाकोट जाने सामुहिक वा युगल जोडिहरु प्रसस्त मात्रमा भेटिन्छन् । नयाँ वर्ष बिभिन्न चाडवाड र बिदाका दिन रुपाकोटमा दैनिक मानिसहरुको भीड हुने गर्छ । जसले खोटाङको आन्तरिक पर्यटन बिकासको अभ्यास र सुनौलो भविष्यको संकेत गरिरहेको छ । प्रशस्त जंगल भएका कारण जिल्लामा अबिरल बहिरहने भालु खोला, छेपे खोला, लोचा खोला, देखुमे खोला र दिखुवालगायत खोलाको श्रोत रुपाकोट नै हो । रुपाकोटबाट एकाबिहानै सुर्यदय हेर्ने मान्छेहरुको उल्लेखीय भेटिन्छन् । त्यसैले रुपाकोटले लगाएको मोहनीले फेरि पनि रुपाकोट जाँउ –जाँउ लाग्छ ।
तर, विडम्वना यति धेरैै सम्पदा बोकेको रुपाकोटले कता–कता मन दुखाएको जस्तो दखिन्छ । सडक, बिद्युतलगायतका बिकाससंगै संरक्षण नहँुदा अस्तीत्व गुम्ने खतरामा छ । रुपाकोटले यतिखेर बिकासलाई पर्खिरहेको छ । दैनिक दिक्तेलबजारमा भएका हरेक गतिबिधिहरुलाई नियालीरहेको छ । संरक्षणको कुरा कसले उठाउला भनेर । यतिधेरै सम्पदा भएको रुपाकोटलाई पर्यटकीय क्षेत्र बनाउनका लागि कसैको चासो गएको छैन् । रुपाकोट एक आफैमा पर्यटकीय क्षेत्र भएपनि बिकासको अभावले ओझेलमा पर्दै गएको छ । रुपाकोटमा पर्यटन बिकास गर्न धेरै गाह्रो नभएको केहि सरोकारवालाहरु बताउँछन् ।
रुपाकोटबाहेक जिल्लामा अलौगिक स्थानहरु पनि थुप्रै छन् । रुपाकोटलाई संरक्षण र सम्वर्धन गरिए पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्न सकिने सरोकारवालाहरु बताउँछन् । रुपाकोटसम्म सडक बिद्युतजस्ता बिकास पु¥याउने हो भने आन्तरिक तथा बाह्रय पर्यटकको दैनिक भीड लाग्ने अनुमान जिल्लाबासीले गरेका छन् । तराईबासी पहाड हेर्नलाई खोटाङ आए सवैभन्दा पहिले रुपाकोट जाने गरेका छन् । रुपाकोटलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापितसँगै व्यवस्थापनमा सवैको ध्यान गए दैनिक लाखौं रकम जिल्ला भित्रने जिल्लाबासीको अनुमान छ । यो त उद्धाहरण मात्र हो ।
जिल्लालाई समृद्धितर्फ लैजान सवैको चासो गए हलेसी, ट्याम्के, तुवाचुङ, गढीमाई बराहपोखरीलगायतका दर्जनौ पर्यटकीय क्षेत्रहरु अहिले बिकासलाई कुरीरहेका छन् । यस्ता क्षेत्रहरुको पहिचान गरि पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरे खोटाङ आर्थिक क्षेत्रमा बलियो हुनेछ । स्थानीय तहको निर्वाचनसँगै मुलुकले स्थानीय सरकार प्राप्त गरेको छ । १५ वडालाई समेटेर बनेको नगरपालिकाको नाम पनि दिक्तेल रुपाकोट मझुवागढी नै राखिएको छ । स्थानीय सरकार आएसँगै रुपाकोटले थोरै भएपनि विकासको आभाष महशुस गरेको छ ।
नगरपालिकाले रुपाकोटमा भ्यू टावरलगायतका भौतिक संचरना निर्माण गरेको छ । त्यतिले मात्र रुपाकोटको विकास भएको महशुस पक्कै हुने छैन । स्थानीय सरकारले रुपाकोटको गुरुयोजना बनाई केवलकार जस्ता अन्य संरचनाको निर्माण गरि आन्तरिक तथा बाह्रय पर्यटकको ध्यानमात्र तान्न सके खोटाङलाई यहि रुपाकोटले बलियो बनाउनेमा कुनै दुई मत छैन ।