शनिवार, जेठ ३१ २०७७
नेपाल वाइड

प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको हो । शनिबार बसेको संसद बैठकले दुई तिहाई भन्दा बढी मतका साथ नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ ।
प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराईएको थियो । प्रतिनिधिसभाको नियमावलियको नियम १ सय ३७ को उपनियम ९ मा ‘संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ ।’
नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो । सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो ।
बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरि बाहिरीएको थिइन । नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित भएसँगै देशभर खुशीयाली छाएको छ । नागरिकहरुले मिचिएको भुमि प्राप्त गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन । नयाँ नक्सा पारित भएको अबशरमा देशका बिभिन्न ठाँउहरुमा दिप प्रज्वलन गरिएको छ ।