सोमवार, आषाढ १ २०७७
नेपाल वाइड
नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदै छ । यो ‘वलय सूर्यग्रहण’ हो । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्यग्रहण देखिने र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्यग्रहण देखिनेछ । नेपालमा विहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मिकी क्याम्पसका सह–प्राध्याक तथा वरिष्ट खगोलविद जयन्त आचार्यले बताए ।
मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ । यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।
वैज्ञानिक तथा खगोलविद्हरु सूर्य, चन्द्र र पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर सूर्यग्रहण नांगो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनु पर्ने खगोलविदहरु बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ । साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । ।